काकरभिट्टा, चैत २८ । झापाको काकरभिट्टास्थीत अरूणोदय माध्यमिक विद्यालयले भव्यरुपमा अरूणोदय उत्सव सम्पन्न गरेको छ ।
विद्यार्थीको सृजनात्मकताको प्रवद्र्धनका लागि मंगलबार र बुधबार दुइ दिन सञ्चालन भएको उत्सवमा फरक शैलीमा कार्यक्रमहरुको आयोजना गरिएको थियो । विविध जातजाति र सांस्कृतिक झल्किने प्रस्तुतिहरू, शैक्षिक प्रदर्शनी तथा विद्यार्थीको बहुप्रतिभा प्रदर्शनले कार्यक्रमलाई भव्य बनाएको थियो ।
मंगलबार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ्गले उत्सवको उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगिरथ राईको अध्यक्षतमा भएको उत्सवका सबै कार्यक्रम विद्यार्थीहरू अगुवाईमा गराइएको थियो ।
उत्सवको पहिलो दिन मंगलबार कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीको प्रस्तुती र दोस्रो दिन बुधबार कक्षा ६ देखि १० कक्षाका विद्यार्थीको प्रस्तुती रहेको थियो । उत्सवमा पुस्तक प्रदर्शनी तथा विक्रि, विद्यार्थीहरूले बनाएका चित्रकला, हस्तकला प्रस्तुति,बिभिन्न लोपन्मुख तथा मौलीक सामाग्रीहरुको प्रर्दशनी गरिएको थियो ।

बिभिन्न समुदायका मौलीक परिकारका खानाहरुको विद्यार्थीहरूले नै बनाएर प्रदर्शनी तथा बिक्रि गरेको विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर लुइटेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको आँखा तथा दाँत परीक्षण, विद्यार्थी र अभिभावक सम्मान, स्काउटका सामग्री प्रदर्शनी तथा बिक्री वितरणको कार्यक्रमपनि उत्सवमा आयोजना गरिएको थियो । उत्सवका लागि विद्यार्थीहरूले १३ वटा स्टल तयार गरेका थिए ।
