मेचीनगर, फागुन २९ । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई हिजो सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि अधिकाशंक महिलाहरुले नगरको शिप विकास तालिम केन्द्र कहिले सञ्चालन हुन्छ ? भनेर प्रश्न गरेका थिए ।
सार्वजनिक सुनुवाईमा नगरका अगुवा महिलाहरु सरस्वति सिटौला, जानुका ओली, सविता पोखरेल, पुष्पा भण्डारी, सिता पोखरेल, पुर्व जनप्रतिनिधि विन्दा प्रसाई लगायतले नगरपालिकाले निर्माण गरेको महिला शिप विकास केन्द्रको भवन कहिलेदेखि सञ्चालनमा आउँछ भनेर प्रश्न गरेका थिए । उनीहरुले मेचीनगर ८ मा लाखौं रकम खर्च गरेर भवन निर्माण भएको लामो समय वितिसक्दा समेत पनि महिला शिप विकास तालिम केन्द्र सञ्चालन आउन नसकेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरु मेची उद्योग बाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल, मेचीनगर–६ का नरेन्द्रप्रकाश सिटौला, मेचीनगर–७ का हरिप्रसाद संग्रौला, मेचीनगर–१५ का देवेनलाल मेचे, मेचीनगर–१० का प्रेमप्रकाश फलाहारी, मेचीनगर–१० का उदय बराइली, मेचीनगर–७ का अमरबहादुर परियार, मेचीनगर–१२ का कालु मेचे, सञ्चारकर्मी नवराज सुवेदी नगरको विभिन्न विषयमा प्रश्न गरेका थिए ।

उनीहरुले धुलाबारी सडक निर्माणको अवस्था, सरसफाइ कर, ठेलाभ्यानमा गुणस्तरहीन खानेकुरा, मेलमिलापका विषय, कोशेली घरको कुरा, छाडा कुकुरको विगविगी, ज्यामिरगढीको झोलेङ्गे पुलको अवस्था, त्रिफला पुस्तकालयलाई सहयोग आवश्यक, सामुदायिक सिकाई केन्द्रलाई बजेट अभाव, गोकुल मार्गको अधुरो सडक, भेटघाट चौतारी बनाउन माग, सुकुमबासीलाई धनिपूर्जा वितरण, धाइजन मोडदेखिको माथ्लो सडक भत्किएको अवस्था, बजारका अलपत्र तारहरु, प्रत्येक वडामा तालिम केन्द्र, पटके कर, भारतीय गाडीको डवल दस्तुर, नगरका भवनहरु, कार्यान्वयन हुन नसकेका बजेटका योजनाहरु, नारी सीप विकास केन्द्रको भवन, सामुदायिक वनलाई हेर्ने दृष्टिकोण, न्यायिक समितिले न्याय दिएको महसुस गराउनुपर्ने, पुष्पलाल मार्ग कालोपत्रे हुनपर्ने, नागरडुब्बा खोलाको पुलको जीर्ण अवस्था, किसान, व्यापारीको तथ्याङ्क लगायतका विषयमा प्रश्न, गुनासा र मागहरु राखेका थिए ।
नागरिकहरुको प्रश्नमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, वडा नं. १० का वडा अध्यक्ष नारायण खनाललगायतले उत्तर दिनु भएको थियो । नगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले नगरको समग्र गतिविधिको बारेमा प्रस्तुति गर्नु भएको थियो भने उपप्रमुख उप्रेतीले स्वागत मन्तव्य राख्नु भएको थियो । काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले सहजिकरण गरेको कार्यक्रम प्रालिका अम्बिका भण्डारीले सञ्चालन गर्नु भएको थियो ।