धुलाबारी, फागुन २८ । झापाको धुलाबारीमा हिजोदेखि सुरु भएको रैथाने स्वादको दुईदिने महोत्सवमा घुइचो लागेको छ । नन्दा कोरिडोर प्रवर्धन केन्द्रले आयोजना गरेको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा स्थानीय समुदायको रैथाने परिकारको स्वाद लिनेको घुइचो लागेको हो ।
धुलाबारीस्थीत निन्दा नदिको किनारमा रहेको नन्दा कोरिडोर क्षेत्रमा आयोजना गरिएको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा मेचे, राजबंशी, धिमाल र दनुवार जातिको रैथाने परिकार राखिएको नन्दा कोरिडोर प्रवर्धन केन्द्रका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । महात्सवको पहिलो दिन ठुलो संख्यामा आगन्तुकहरुले अवलोकन गरी रैथाने परिकारको स्वाद लिनु भएको अध्यक्ष खड्काले बताउनु भयो ।

रैथाने स्वाद महोत्सवमा मेचे समुदायको याङफारे, फेतो, सिताव र कुकुराको मासु राखिएको छ भने राजबंशीको घुँगी, पेल्का, भाक्का र माछाको झोलको स्वाद लिन सकिन्छ । त्यस्तै धिमाल समुदायको तोल, ग्यान्द्रो, चिचिरी र सुँगुरको परिकार खान सकिन्छ भने दनुवार समुदायको केराको बुङ्गोको अचार, गंगाटाको अचार, पिठोको रोटी, न्वागी अर्थात खीरको स्वाद लिन सकिने आयोजक संस्थाका सचिव निर्मल दाहालले जानकारी दिनुभयो ।
त्यस बाहेक पनि स्थानीय शान्ति समाजको महिला समूहले साहाकारी खानेकुरा पनि महोत्सवमा राखेको छ । सेलरोटी, ढेंडो, फपरको फुरौला र गुन्द्रुकको अचार लगायतका खानेकुरा शान्ति समाजको महिला समूहले राखेको आयोजक संस्थाका सहसचिव देवेन्द्र दाहालले बताउनु भयो ।

त्यसैगरी महोत्सवमा ती चार समुदायका जीवनसंग जोडिएका विभिन्न परम्परागत सामग्रीहरुको प्रर्दशनी समेत गरिएको छ । महोत्सवमा खानाका सम्पूर्ण परिकारको मुल्य तिरेर स्वाद लिने व्यवस्थापन गरिएको छ । महोत्सवमा चार जातिका भेषभुषा तथा साँगितिक प्रस्तुती समेत गरिएको छ । हिजो एक कार्यक्रमकाबीच मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उदघाटन गर्नु भएको महोत्सव आज सकिने छ ।