झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा विजयी हुदैं मच्छिन्द्र फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ ।
मच्छिन्द्रले एपिएफ क्लवमाथी १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे ।
मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ मलिकले सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङ गोल लगाउनबाट चुके । लगत्तै कामाहाको पासमा युसफको पावरफुल सट बाहिरियो । खेलको ७४ औँ मिनेटमा एपिएफका गोलरक्षक विशाल गुरुङ वीट भएको समयमा विकास टिटुङले गोल लाइनबाट बचाए । ८५ औँ मिनेटमा कामाहाको प्रहार दोस्रो बारमा लागेर फर्कियो ।
खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरु गुमाएपछि परिचित प्रतिद्धन्दी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
एपिएफका लागि खेलको ७३ औँ मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८० औँ मिनेटमा पेनाल्टी एरियमा अनमार्क रहेका अनिश महर्जनले गरेका प्रहार बाहिरिदा एपीएफ पहिलो चरणबाटै घर फर्किएको छ । मच्छिन्द्रका प्रशिक्षक गणेश कटुवालले दुवै टिम राम्रो थियो तर हाम्रो टिम सेट नभएर सोचेजति स्कोर निकाल्न नसकिएको बताए । कटुवालले लगातारका प्रतियोगिताका कारण पनि खेलाडीहरुलाई आराम नहुँदा खेल सोचे जस्तो हुन नसकेको बताए ।
एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रर्दशन हुन नसकेको बताए । उनले एन्फाको अव्यवहारिक खेल तालिकाका कारण खेलाडी घाइते हुने गरेकाले आगामी दिनमा तालिका सार्वजनिक गर्दा खेलाडीले आराम पाउने गरी बनाउन अनुरोध पनि गरे । खेलाडीले नतिजा निकाल्न नसकेपनि सन्तोषजनक प्रर्दशन गरेका बताए ।
खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् । बुधवार हुने पहिलो सेमिफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबिच हुने आयोजक छ ।
काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसीलाई र धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर सेमिफाइनलको यात्रा तय गरेका थिए ।
फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।