काकरभिट्टा, फागुन २४ । मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा आयोजक काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । आज भएको उदघाटन खेलमा काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरले कालिङम्पोङ भारतको जर्जियन फुटवल टिमलाई ४–२ को गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो खेलमै पराजित भएर जर्जियन प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको २७ औं मिनेटमा जर्जियनका जर्सी नं. १६ का सत्यम शर्माले गोल गर्दै पाहुना टोलिले अग्रता लिएको थियो । तर त्यो अग्रता खेलमा विजयी नतिजा निकाल्न पर्याप्त भएन । पहिलो हाफको अतिरिक्त समयमा आयोजकले पाएको पेनाल्टीमा निशान लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
दोस्रो हाफको सुरुदेखि नै आयोजक काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरले आक्रामक खेल खेलेको थियो । दोस्रो हाफ चौथो मिनेटमै आयोजकका तर्फबाट अफ्रिकन खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको १५ औं मिनेटमा निशान लिम्बुले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै जित नजिक पुर्याएका थिए । दोस्रो हाफमा लागातार राम्रा अवसर निकाले पनि गोलमा परिणत हुन सकेको थिए । सोही क्रममा दोस्रो हाफको १८ औं मिनेटमा आयोकजका रोर्बटले गोल गर्दै टिमको गोल संख्या ४ पुर्याएका थिए ।

पाहुना टोलि जर्जियनका सत्यम शर्माले अतिरिक्त समयमा टिम र आफ्नो व्यक्तिगत दोस्रो गोल गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरबाट दुई गोल गर्ने निशान लिम्बु घोषीत भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरेका थिए ।
काकरभिट्टा खेल मैदानमा आजदेखि सुरु भएको मेचीनगर गोल्डकपकोे दोस्रो खेल भोलि अर्थात फागुन २५ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र एन एस एलको टिम झापा एफसीबीच खेल हुने प्रतियोगित मूल आयोजक समितिका सचिव राजु कार्कीले जानकारी दिनुभयो ।
चैत २ गते सम्म सञ्चालन हुने मेचीनगर गोल्डकपको उपाधी विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ । त्यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।