काकरभिट्टा, फागुन २३ । झापाको काकरभिट्टामा फागुन २४ गते शनिवारदेखि सुरु हुने पाँचौं मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगिताको सबै तयारी पुरा भएको बताउनु भयो । ‘हामीले सबै तयारी पुरा गरेका छौं,’ मैनालीले भन्नुभयो, ‘अब खेल सुरु हुने प्रतिक्षामा छौं ।’
प्रतियोगिताका लागि करीब एक करोड खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ‘हामीले स्थानीयस्तरमा नै खर्चको ब्यवस्थापन गर्न सफल भएका छौं,’ आचार्यले भन्नुभयो, ‘कसैलाई पनि जबरजस्ती पैसा मागेका छैनौ र माग्दैनौ, सहयोगीहरुले आफैं सहयोग गरिरहनु भएको छ ।’
पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका सदस्य तथा पुर्व राष्ट्रिय खेलाडी मिन बस्नेतले तेस्रो मुलुकको टिम खेलाउने कोशी प्रदेशकै पहिलो प्रतियोगिता मेचीनगर गोल्डकप भएको सुनाउनु भयो । वहाँका अनुसार उज्वेकस्थानको ब्लाक बुल्सले मेचीनगर गोल्डकपमा प्रतिस्पर्धा गदैछ ।
प्रतियोगिताको आर्थिक व्यवस्थापनका बारेमा जानकारी दिंदै आर्थिक समिति संयोजक आचार्य ।
पत्रकार सम्मेलनमा आयोजक काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापा, जिल्ला फुटवल संघ झापाका पुर्व अध्यक्ष बालाजित राई, प्राज्ञ सुभद्रा अर्याल लगायतको उपस्थीति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण मूल आयोजक समितिका सचिव राजु कार्कीले गर्नु भएको थियो ।
काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिता अन्तर्गत उदघाटन खेल भोली आयोजकको काकरभिट्टा फुटवल क्लव र जर्जियन फुटवल क्लव भारतबीच प्रतिस्पर्धा हुनेछ । उदघाटनको दिन अन्तराष्ट्रिय नारी दिवस परेकाले सबै महिलालाई निशुल्क प्रवेश गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गोल्डकपका फाइनलबाहेकका सबै खेलहरुको टिकट दर एक सय रुपैयाँ कायम गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।
काकरभिट्टा खेल मैदानमा हुने गोल्डकपकोे दोस्रो खेल फागुन २५ गते चर्च ब्वाइज युनाइटेड ललितपुर झापा एफसीबीच खेल हुनेछ भने फागुन २६ गते उज्वेकस्थानको ब्लाक बुल्स र धरान एफसी बीचको खेल हुनेछ । त्यसैगरी फागुन २७ गते एपिएफ क्लव र मच्छिन्द्र क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने फागुन २९ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ । मेचीनगर गोल्डकपको उपाधी विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ । त्यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।