झापा, फागुन १९ । झापा धुलाबारीकी रिया शर्मा पहिलो पटक नेपाली महिला क्रिकेटको राष्ट्रिय टिममा परेकी छन । आगामी मार्च ६ देखि १७ सम्म अर्थात फागुन २२ गतेदेखि चैत ४ गतेसम्म युगाण्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय रिया शर्मा पनि समावेश भएकी छन । युगाण्डा जाने नेपाली टिम क्यानले आइतवार घोषणा गर्दा १६ वर्षीया दाँयाहाते लेग ब्रेक बलर रियाको नाम समेत समावेश गरेको हो । रियाले यस अघि यू १९ विश्वकप प्रतियोगितामा नेपाली टोलीबाट खेलीसकेकी छन ।

राष्ट्रिय टिमबाट खेल्न पाउने कुराले उत्साहित भएको रियाले सेतोपत्रलाई बताइन । ‘निक्कै खुसी लागेको छ,’ रियाले भनिन, ‘टिमका लागि राम्रो गर्ने प्रयास गर्छु ।’ नेपाली महिला क्रिकेट टिम फागुन २२ गते युगाण्डा प्रस्थान गर्नेछ ।
प्रतियोगिता अन्तर्गत ८ मार्चमा नेपालले नामिबियासँग पहिलो खेल खेल्नेछ । यस्तै आयोजक युगान्डासँग ९ मार्च र हङकङसँग १० मार्चमा नेपालको खेल हुनेछ । डबल राउन्ड रोबिनको प्रतिस्पर्धा पछि अंक तालिकाको पहिलो र दोस्रो हुने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने तेस्रो र चौथोबीच तेस्रो स्थानको खेल हुनेछ ।
युगाण्डा जाने नेपाली टोलीमा कप्तान इन्दु बर्मा, बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रवीण, ईश्वरी बिष्ट रहेका छन ।
को हुन रिया शर्मा ?

झापा मेचीनगर १० धुलाबारीकी रिया शर्मा दाँयाहाते लेग ब्रेक बलर हुन । १६ वर्षीया रिया मलेसियामा सम्पन्न यू १९ विश्वकपमा खेलिसकेकी खेलाडी हुन । रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन । धुलाबारी माध्यमिक विद्यालयमा क्रिकेट खेल्दै गर्दा क्रिकेटप्रतिको मोहले उनलाई काकरभिट्टामा सञ्चालन भएको क्रिकेट एकेडेमीसम्म पुर्यायो ।
त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पीएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन । त्यसपछि यू १९ टिममा परेकी रियाले विश्वकप छनोटका बेलादेखि नेपालको यू १९ टिममा रहेकी रियाले यू १९ एसिया कप पनि खेलिन ।