मेचीनगर,फागुन २ । झापाका १५ वटा स्थानीय तह मध्येको कार्य सम्पादन मूल्याङ्कनमा मेचीनगर नगरपालिकाको अवस्था कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्रका १५ मध्येमा मेचीनगर नगरपलिका १४ औं स्थानमा परेको छ । मेचीनगर पछि गौरीगञ्ज गाउँपालिका छ । मेचीनगर नगरपालिकाले मात्रै ३९.२ अंक प्राप्त गरेको छ ।
झापामा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । कार्यसम्पादन मूल्याङ्कनमा भद्रपुरले ७१ अंक प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा भने गौरादह नगरपालिकाले ६१ अंक प्राप्त गरेको छ । तेस्रो स्थानमा शिवसताक्षी नगरपालिका परेको छ । शिवसताक्षीले ६०.७ अंक प्राप्त गरेको छ । चौथो स्थानमा हल्दिबारी गाउँपालिका रहेको छ,जसले ६० अंक प्राप्त गरेको छ। त्यसै गरी झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाले ५८.९/५८.९ अंक प्राप्त गरेका छन् ।
बुद्धशान्ति गाउँपालिकाले ५७.२, दमक नगरपालिकाले ५४.२, बिर्तामोड नगरपालिकाले ५३.४, कनकाई नगरपालिकाले ५२.८, कमल गाउँपालिकाले ५१.३, अर्जुनधारा नगरपालिकाले ४७.९, कचनकवल गाउँपालिकाले ४६.३ अकं प्राप्त गरेका छन् । अन्तिम अंक प्राप्त गर्ने गौरीगञ्ज गाउँपालिका रहेको छ । गौरीगञ्जले ३३.९ अंक प्राप्त गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।