झापा, माघ ३० । पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी खोप झापामा ८५.४३ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । माघ २२ देखि माघ २९ गते सञ्चालन भएको खोप अभियानमा झापामा ४६ हजार ९ सय ६९ किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार झापामा ५४ हजार ९ सय ७९ जना खोप लगाउने संख्या लक्षीत गरिएको थियो ।
झापामा विद्यालय भित्र खोप लगाउने किशोरीहरुको संख्या उल्लेख्य भए पनि विद्यालय बाहिर रहेका किशोरी धेरैले खोप नलगाएको तथ्याङ्कले देखाएको छ । विद्यालय भित्र लक्षीत संख्याको ९४.९ प्रतिशत किशोरीहरुले खोप लगाएको भए पनि विद्यालय बाहिर रहेका ३२.८ प्रतिशतले मात्रै खोप लगाएका छन । झापामा विद्यालय भित्र ४६ हजार ५ सय ७४ मध्ये ४४ हजार २ सय १५ जनाले खोप लगाएका छन भने विद्यालय बाहिरका ८ हजार ४ सय ५ मध्य २ हजार ७ सय ५४ जनाले मात्रै खोप लगाएका छन ।
एच.पि.भी खोप अभियान अन्तर्गत झापामा प्रतिशतका आधारमा सबैभन्दा धेरै बाह्रदशी गाउँपालिकामा खोप लगाइएको छ । बाह्रदशीमा १०१.८७ प्रतिशतले खोप लगाएका छन । उक्त गाउँपालिकामा १९७५ जना खोप लगाउने संख्या लक्षीत गरिएकोमा त्यसभन्दा बढी २०१२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै झापा गाउँपालिकामा ९६.५६ प्रतिशत, बिर्तामोड नगरपालिकामा ९१.०१ प्रतिशत र बुद्धशान्ति गाउँपालिकामा ९०.०९ प्रतिशतले खोप लगाएका छन ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकाले ८७.८० प्रतिशत, दमक नगरपालिका ८७.६३ प्रतिशत र मेचीनगर नगरपालिकामा ८७.२५ प्रतिशतले खोप लगाएका छन । त्यसैगरी कमल गाउँपालिकामा ८५.२८ प्रतिशत, कचनकवल गाउँपालिकामा ८२.८४ प्रतिशत, गौरादह नगरपालिकामा ८२.७८ प्रतिशत, कन्काई नगरपालिका ८१.३५ प्रतिशत, भद्रपुर नगरपालिका ७७.९७ प्रतिशत, शिवशताक्षी नगरपालिका ७७.८०प्रतिशत, हल्दिबारी गाउँपालिका ७५.४२ प्रतिशत र अर्जुनधारा नगरपालिका ७४.४६ प्रतिशतले एच.पि.भी खोप लगाएका छन ।
विद्यालय भित्रका कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.भि.पी खोप लगाउन सरकारले देशव्यापी अभियान सञ्चालन गरेको छ ।
