चारआली, माघ २२ । झापामा एच.पि. भी खोप अभिायनको एक कार्यक्रमकाबीच शुरुवात गरिएको छ । मेचीनगर वडा नं। १३ स्थीत शहिद दशरथचन्द माद्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालले झापा जिल्लाको खोप अभियानको शुभारम्भ गर्नु भएको हो ।
झापामा पहिलो पटक मेचीनगर–१३ स्थीत शहिद दशरथचन्द मावि कक्षा ६ मा अध्ययनरत रिङ्कु पासवानलाई स्वास्थ्यकर्मीले एच.पि.भी खोप लगाएर अभियानको शुरुवात गरिएको हो ।
अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले खोप लगाउनु पर्ने बिषयको बारेमा जानकारी गराउनु भएको थियो । पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि यो खोप अति उपयोगी भएकाले १० बर्षदेखि १४ बर्ष उमेरका बालबालिकाहरुलाई एच.पि.भी खोप अनिवार्य लगाउनु पर्ने बाराकोटीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का दाहालले क्यान्सरको उपचार जटिल हुने भएकाले त्यसबाट बालिका तथा महिलाहरुलाई बचाउन पनि एच .पि .भी खोप लगाउनु पर्ने बताउनु भयो । मेचीनगर उपप्रमुख मिना पाखरेल उप्रेतीले खोप अभियान सफल बताउन अभिभावकको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।
खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्र मल्ल, मेचीनगरका प्रमुख प्रसाशकीय अधिकृत अग्नी प्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शहिद दशरथचन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेल लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच पि भी खोप विद्यालयमा रहेकाहरुमा कक्षा ६ देखि कक्षा १० सम्म र बिद्यालय बाहिरका १० बर्षदेखि १४ बर्ष उमेरका किशोरीलाई लगाइने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार मेचीनगरमा करीब ७ हजार किशोरीहरुलाई खोप लगाइने छ ।
झापामा ५४ हजार ९ सय ९९ किशोरीहरुलाई एच पि भी खोप लगाउइने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । जिल्लामा ७५५ खोप केन्द्रमा ७८१ स्वास्थ्यकर्मीले माघ २९ गते खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।