झापा,माघ २० । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा ९ जिल्लामा आव्हान गरिएको बन्दको झापामा आंशिक प्रभाव परेको छ ।
मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतले आव्हान बन्दका कारण सार्वजनिक यातायातका साधनहरु कम सञ्चालन भएका छन् भने बजार,पसल तथा बिद्यालयहरु भने खुल्ला रहेका छन् । संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।
म्याजिक,अटो टयाम्पो तथा निजि यातायातका साधन भने निर्वाधरुपमा चलिरहेको प्रहरीले जनाएको छ । समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको हो ।पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ ।
झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले बिहान २ वटा घाघरुको रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेकोमा त्यसलाई पन्छाएर सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
उता दमक –६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बू रहेको तथा उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी चन्दले बताउनुभयो ।