झापा, माघ १ । आज माघ १ गते देशभरि माघे संग्रान्ति पर्व मनाइदैंछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति समेत भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने हुनाले उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत झापाको कन्काई नदिमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको पाइन्छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
आजको दिन थारू समुदायले माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउने गर्दछन । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरीन्छ ।