झापा, पुस २८ । जिल्ला सहकारी संघ झापाले लगानी गरेको १० करोड भन्दा बढी रकम जोखिममा परेको छ । संघको शनिवार सम्पन्न साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा विभिन्न १५ वटा सहकारी संस्थामा गरेको लगानी जोखिममा परेको उल्लेख गरिएको छ । संघको लेखा प्रतिवेदन अनुसार १० करोड ५५ लाख ५ हजार ३०३ रुपैयाँको कर्जा लगानी भाका नाघेको छ । यो रकमको कर्जा लिने अधिकाशं सहकारी संस्थाले व्याज समेत बुझाएका छैनन भने केही सहकारीले व्याज बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी कर्जा चलाएर साँवा र व्याज नतिर्ने सहकारी संस्थाको सूचीमा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल आवद्ध पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था सबै भन्दा पहिलो नम्बरमा छ । कलम गाउँपालिकामा मुख्य कार्यालय रहेको तथा ढकाल निवर्तमान अध्यक्ष रहेको पूर्व नेपाल सहकारी संस्थाले लगेको ६ करोड रकमको साँवा र व्याज भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सहसचिव कृष्णप्रसाद मिश्र आबद्ध रहेको जय नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले दुई करोड २७ लाख रुपैयाँको साँवा र व्याज तिरेको छैन । त्यस्तै गरामनी कृषि सहकारी संस्था बिर्तामोडको दुई करोड, पहिलो पाहिला बहुउद्देशीय सहकारी संस्था बिर्तामोडको ९० लाख, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको ८० लाख, सतासी महिला मौरीपालन सहकारी संस्था शिवसताक्षीको ७५ लाख, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाको ६० लाख, पुर्बाध कृषि सहकारी संस्था अर्जुनधाराको ५० लाख, मयुर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, श्री सहकारी संस्था राजगढको ३० लाख, देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, साइनो बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीको २० लाख, सृजनशील बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १५ लाख, उत्कृष्ट कृषि सहकारी संस्था हल्दिवारीको १० लाख र जनएकता कृषि सहकारी संस्था कमल गाउँपालिकाको १० लाख भाका नाघेको छ ।
भाका नाघेका कर्जाहरु गम्भिर अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘संघले लगानी गरेका कर्जाहरु मध्ये किस्ता अनियमित भएका, भाका नाघेका र व्याज पनि प्राप्त नभएका कर्जाहरुमा २०८१ पौस १२ गतेसम्म पनि कुनै प्रगती नभएकाले कर्जाको अवस्था गम्भिर छ ।’ जोखिम अवस्थामा रहेका कर्जाहरुको असुली हुने संघका अध्यक्ष गणेश ढकालले बताउनु भयो । ‘पहिला पनि यस्तो अवस्थाबाट हामीले असुली गरेका थियौं,’ ढकालले भन्नुभयो, ‘यो पनि असुली हुन्छ ।’