धुलाबारी, पुस २६ । झापाको धुलाबारीस्थीत मेचीनगर लेडी जेसीज जगतदाता बृद्धाआश्रमको अध्यक्षमा सुनिता पनेरु सर्बसम्मत चयन हुनु भएको छ । संस्थाको बुधबार सम्पन्न छैठौं साधारण सभाको बन्द सत्रले अध्यक्षमा पनेरु सहित ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक अजय घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचन समिति संयोजक घिमिरेका अनुसार संस्थाको बरिष्ठ उपाध्यक्षमा शुशिला खतिवडा, उपाध्यक्षमा अनिता वंशल र उषा श्रेष्ठलाई चयन हुनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा सिता गिरी पुरी, मञ्जु खनाल, पवित्रा बिमली प्रसाई, बबिता प्रसाई, सोम ओझा, बिष्णु पौडेल र चन्दा बुढाथोकी चयन हुनु भएको छ । संस्थाको विधान अनुसार सचिव, कोषाध्यक्ष र सहसचिव कार्यसमितिहरु मध्येबाट पहिलो बैठकले चयन गर्ने निर्वाचन समिति संयोजक घिमिरेले बताउनु भयो ।
संस्थाकी अध्यक्ष टिका सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वहाँले आफुले बृद्धाआश्रमको सुरुवाती काम गरेको सभाहलको निर्माण सम्पन्न गरेको बताउनु भयो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सुनिता पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा बृद्धाआश्रमका लागि ५ कठ्ठा जग्गा दान दिनु हुने जेष्ठ नागरिक दाताराम खनाललाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । त्यस्तै सभाहल निर्माणमा सहायोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा आजिवन सदस्यहरुका प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले मानविय सेवाका लागि सञ्चालनमा आएको संस्थालाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जग्गादाता दाताराम खनाल, मेचीनगर जेष्ठ नागरिक समाजका अध्यक्ष हिम्मत क्षेत्री, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बृद्धाआश्रमका हालसम्म ६४ जना आजिवन सदस्य रहेको अध्यक्ष सुवेदीले जनाकारी दिनुभयो । वहाँका अनुसार आजिवन सदस्यता वितरणको क्रम निरन्तर जारी रहेको छ ।