काकरभिट्टा, पुस २६ । काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाले इतिहासमा काकाकुल अवस्थामा रहेको काकरभिट्टालाई भारमा पानी बोकेर खुवाउनेहरुलाइृ सम्झिएको छ । संस्थाको २९ बार्षिक साधारण सभाको अवसरमा बिगतमा भारमा पानी बोकेर काँकरभिट्टामा ल्याएर बिक्रि गर्ने ७६ बर्षीय धुम्मलाल राजवंशी र ७९ बर्षीय कप्तान राजवंशीलाई सम्मान गरेको छ । काकरभिट्टाको डाँडामा पानीको चरम अभाव भएका बेला भारमा पानी बोकेर बिक्रि गर्ने नै पेशा अपनाएर तिर्खा मेटाउनेहरुलाई संस्थाले सम्मान गरेको काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित कुमार बुढाथोकीले बताउनु भयो ।
उत्कृष्ट ग्राहकको सम्मान ग्रहण गर्दै पूर्णबहादुर राई ।
संस्थाले जनही ५ हजार नगद र सम्मान पत्र सहित धुम्मलाल र कप्तानलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र १ प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सम्मान पत्र प्रदान गर्नु भएको थियो । यसैगरी, कार्यक्रममा उत्कृष्ट उपभोक्तातर्फ दुई उपभोक्तालाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीतर्फ एक कर्मचारीलाई नगद ७ हजारसहित सम्मान गरियो । उपभोक्तातर्फ मेचीनगर–६ निवासी पूर्णबहादुर राई र मेचीनगर–३ निवासी रमा भण्डारीलाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीतर्फ संस्थाका फिल्ड सहायक छविलाल लिम्बु सम्मानित गरिएको थियो ।
उत्कृष्ट ग्राहकको सम्मान ग्रहण गर्दै रमा भण्डारी ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले इतिहासलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउनु भयो । ‘भारबाट पानी बोकेर तिर्खा मेटाउने यथार्थ इतिहास मात्रै होइन । अवस्थाप्रतिको ज्ञान पनि हो । हामी कुन अवस्थामा थियौं र आज कुन अवस्थामा छौं । यसप्रतिको ज्ञान पनि हो । आज इतिहासलाई सम्मान गर्न पाउँदा एकदमै खुशी लागेको छ,’ शर्माले भन्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका शर्माले भन्नुभयो, ‘इतिहास र वर्तमानलाई हेर्दा गल्ती धेरै भएको छ तर देशमा केही भएन भन्ने पनि होईन ।’
उत्कृष्ट कर्मचारीको सम्मान ग्रहण गर्दै छविलाल लिम्बु ।
शर्माले अगाडी भन्नुभयो, ‘भारमा पानी बोकेर खुवाउनु पर्ने काकरभिट्टामा आज कोठा कोठामा खानेपानी पुगेको छ, काकरभिट्टादेखि बाहुनडाँगीसम्म र धुलाबारीदेखि थोप्लेविरानसम्म दुई तर्फी कालोपत्रे धमाधम बन्दैछ ।’ संस्थाका अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरिरहेका कार्य, संस्थाका चुनौती तथा अवसरका बारेमा बताउनु भयो ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका डिभिजन प्रमुख सुरतलाल चौधरी, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर इन्चार्ज देवकुमार राई, नेकपा माओवादी केन्द्र क्षेत्रीय इन्चार्ज प्रकाश भण्डारी, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष धनकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यवाहक नगर अध्यक्ष होमबहादुर विष्ट, बुधबारे खानेपानी संस्थाका अध्यक्ष ध्रुव ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकै सभाहलमा सम्पन्न भएको साधारण सभाको उदघाटन सत्रमा संस्थाका पदाधिकारीहरु, उपभोक्ताको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु, पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विशाल तामाङले गर्नु भएको थियो ।