इटाभट्टा, मेचीनगर नगरपालिका वडा नं ८ को खोलाको जग्गालाई व्यक्तिको नाममा हालसाविक गरिदिने भन्दै २० लाख ५० हजारको लेनदेन भएको घट्ना सार्वजनिक भएको छ । मेचीनगर ६ का पदम कटुवालले आफ्नो जग्गामा खोलाको जग्गा थप गरी हालसाविक गरिदिने भन्दै मेचीनगर ८ का एक मेलमिलाकर्ताले २० लाख ५० हजार लिएको भन्दै उजुरी दिए पछि घट्ना सार्वजनिक भएको हो ।
घट्ना अनुसार मेचीनगर ८ स्थीत पाँचतारे होटल मेची क्राउन उत्तर तर्फको करीब ८ कठ्ठा जग्गामा खोलाको जग्गा थप गरी एक बिगाहा भन्दा बढी जग्गा व्यक्तिको नाममा हालसाविक गरिदिने भन्दै रकम लिएको निवेदनकर्ताको दाबी रहेको वडा कार्यालयस्रोतले बतायो ।
उजुरीकर्ता पदम कटुवालको मेचीनगर ८ स्थित होटल मेची क्राउन उत्तरमा करिब ८ कठ्ठा जग्गा छ । उक्त जग्गा होटल मेची क्राउन परिसरमा समेत परेको छ । सोही जग्गालाई हाल सविक गर्दै एक विगाह भन्दा धेरै बनाइदिने र त्यस कार्यमा खर्च हुने आशयका साथ मेचीनगर ८ का मेलमिलापकर्ता सुनिल ओलीले आफुसंग पटक पटक गरी २० लाख ५० हजार रकम लिएको कटुवालले वडामा दिएको उजुरीमा उल्लेख छ ।
यस विषयमा बुझ्दा वडा नं ८ का वडाध्यक्ष गिरिराज धमलाले उजुरी परेको विषय स्वीकार्नु भएको छ । उक्त उजुरी नगरको न्यायिक समितिमा पठाइएको वडा अध्यक्ष धमलाले जानकारी दिनुभयो । उहाँले वडाले मेलमिलापकर्ताकै बिरुद्ध उजुरी परेपछि तत्कालका लागि मेलमिलाप समितिलाई निलम्बनका लागि नगरको न्यायिक समितिमा सिफारिस गरेको समेत स्पस्ट पार्नु भयो । यो प्रकरणमा नगरको न्यायिक समितिले अनुसन्धान अघि बढाएको नगरपालिकास्रोतले जनाएको छ ।
यस बिषयमा मेलमिलाप कर्ता ओलीले आफुमाथी लगाइएको आरोप गलत भएको बताउनु भयो । सामान्य रुपमा भएको जग्गाको हालसाविक गराउने कामका लागि लेखनदासलाई दिन एक लाख रुपैया मात्रै लिएको ओलीले बताउनु भयो । ‘हालसाविक गराउने प्रक्रियामा खर्च हुन्छ भने पछि जग्गा धनीले स्वच्छाले मलाई एक लाख दिनु भएको थियो,’ ओलीले भन्नुभयो, ‘त्यस बाहेकको रकम मैले लिएको छैन ।’
यो प्रकरण सार्वजनिक भए पछि अहिले मेचीनगर ८ को मेलमिलाप समितिलाई निलम्बन गरिएको छ । तत्काल कुनै बिषयमा छलफल गर्नु पर्ने भए वडाका जनप्रतिनिधिहरुले नै गराउने वडा अध्यक्ष धमलाले बताउनु भयो । मेचीनगर ८ मा ६ जना मेलमिलापकर्ता रहनु भएको छ ।