झापा,पुस २५ ।नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा कचनकवल–सगरमाथा जागरण अभियान सुरु भएको छ। नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भबाट बुधबार अभियान सुरु भएको हो।
सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान गर्ने उद्देश्य राखेर नेपालको सबैभन्दा होचो भू–भाग कचनकवल स्तम्भबाट जागरण अभियानको शुभारम्भ गरिएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरूले अभियान शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको अपेक्षाबमोजिम संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । ७० वर्षसम्म एउटै प्रधानमन्त्रीले पाँच वर्षसम्म शासन नगरेको देशमा पाँच वर्षसम्म लगातार टिक्ने प्रधानमन्त्री कसरी बनाउने भनी पद्धतिको खोजी गरी संविधान संशोधन गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ।
संविधान संशोधन एमाले र कांग्रेसले चाहेरमात्र नहुने भन्दै उहाँले संविधान लेख्ने बेलामासबै पार्टीका नेताहरूको साथ सहयोग रहे जसरीनै संशोधन गर्ने बेला पनि प्रमुख प्रतिपक्ष माओवादी, मधेस केन्द्रित दल तथा नयाँ दलहरूलाई विश्वास दिलाएर संशोधनको प्रक्रियामा जानुपर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको आर्थिक प्रगतिका लागि कांग्रेसले संर्घष गरिरहेको बताउनुभयो । कांग्रेस र एमालेको सहमतिमा सरकार बनेको र एमाले नेतृत्वमा सरकार गठन भएपनि सैद्धान्तिक तथा नीतिगत रूपमा देशलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस पार्टीको नीतिगत नेतृत्व रहने नेता सिटौलाको भनाइ छ ।
अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिनुभयो । सात महिनासम्म चल्ने अभियान आगामी असार २० गते सगरमाथाको आधार शिविर सोलुखुम्बूको सल्लेरीमा समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिनुभयो । कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन् ।