धुलाबारी, पुस २४ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जंगली हात्तीबाट हुने क्षती न्यूनीरकणका लागि छुट्टै कानून बनाउने बताउनु भएको छ । मंगलवार झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा भएको छलफल र अवलोकनका क्रममा मन्त्री शहीले भन्नुभयो,‘हात्तीको समस्या देशभरी छ, अब क्षतीको न्यूनीकरणका लागि छुट्टै कानून बनाएर प्रयोगमा ल्याउँछौं ।’
नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा धुलाबारीमा भएको हात्ती समस्या समाधानको दीगो उपायको खोजीका सन्धर्भमा भएको सर्बपक्षीय छलफलमा बोल्दै मन्त्री शाहीले प्रभावित क्षेत्रहरुको फरक फरक खालको समस्याहरु छन त्यसैले स्थानीयस्तरबाट आएका समाधानका उपायहरुलाई विज्ञहरुको सल्लाहा अनुसार सरकारले कार्यन्वयन गर्ने बताउनु भयो ।
सांसद शर्माकै सभापतित्वमा सम्पन्न भएको छलफल कार्यक्रममा बोल्दै कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले हात्तीको समस्या प्रदेशका धेरै ठाउँमा देखिएकाले त्यसलाई समाधान गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताउनु भयो । सो अवसरका हात्तीको क्षती न्यूनीकरणका लागि स्थानीयस्तरबाट छलफल गरी निकालिएका १४ बुँदे सामाधानका उपायहरु सहितको ज्ञापन पत्र मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय मन्त्री शाही र प्रदेश मन्त्री मण्डललाई छुट्टछ्ट्टै बुझाउनु भएको थियो ।
सांसद शर्माको सचिवालयको आयोजनामा सम्पन्न भएको छलफलका क्रममा सांसद शर्माले हात्तीको समस्याका कारण लामो समयदेखि धनजनको क्षती भएकाले त्यसको दीगो समाधानका लागि संघ र प्रदेश सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह समेत गर्नु भएको थियो ।
छलफल कार्यक्रममा संघीय वन मन्त्रालयका सचिव, प्रदेश मन्त्रालयका सचिव, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लगायतले हात्ती समस्या समाधानका उपायका बारेमा छलफल गर्नु भएको थियो । कार्यक्रममा प्रभावित क्षेत्र मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीको क्षतीको अवस्था, स्थानीय समुदायले गर्ने व्यवहार र राहत तथा क्षतीपुर्तिका बिषयमा भएको समस्याका बारेमा धारणा राख्नु भएको थियो ।
छलफल पछि संघीय सांसद शर्मा सहित दुवै मन्त्रीको टोलीले प्रभावित क्षेत्र मेचीनगर ४ बाहुनडाँगीको स्थलगत अवलोकनसमेत गरेको थियो । मानव हात्ती द्वन्दका कारण अहिलेसम्म झापामा मात्रै ७२ जना मानिसको मृत्यु भईसकेको छ भने २१ वटा हात्तीको मृत्यु भएको छ । त्यस्तै साबिकको बाहुनडाँगी गाविसको क्षेत्रमा मात्रै हात्तीकै आक्रमणमा परी १९ जनाले ज्यान गुमाईसकेका छन ।