मेचीनगर, पुस २२ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले झापाको धुलाबारीमा मेची महोत्सव २०८१ आयोजना हुने भएको छ । मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गर्ने महोत्सवका बारेमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
मेचीनगर क्षेत्रका कृषि उपज र उद्योगीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका साथै स्थानीय पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि माघ ४ गतेदेखि १२ गतेसम्म मेची महोत्सवको आयोजना गरिएको मेची चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष रबिन बस्नेतले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘हाम्रो क्षेत्रमा कृषि उपज छन, साना साना उद्योग सञ्चालन छन तिनिहरुको बजारमा पहुँछ छैन,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘यो महोत्सवमा त्यस्ता कृषि उपज र उद्योगबाट उत्पादित सामग्रीको बजारसंग सिधा सम्पर्क गराउने दिगो व्यवस्था मिलाउँछौं ।’
‘अहिले लागु औषध दुव्र्यशनका कारण विद्यालय जाने उमेरका युवाहरुमा समेत नराम्रो असर परेको छ,’ बस्नेतले भन्नुभयो, ‘हामी महोत्सवमै त्यस बिषयमा सचेतना र चिकित्सकको समेत परामर्श गर्ने व्यवस्था मिलाउँछौं ।’ कुलतबाट जोगाउन विद्यार्थीहरुलाई महोत्सवमै सचेतना कार्यक्रममा सञ्चालन गर्ने तयारी समेत गरेको चेम्बरका उपाध्यक्ष शान्तिराम चिमरियाले बताउनु भयो । मेचीनगर क्षेत्रका साना ठुला सबै खाले उद्योगलाई महोत्सवमा जोडेर लैजाने चेम्बरका अर्का उपाध्यक्ष भिम कुवँरले बताउनु भयो ।
३६ वटा स्टल रहने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रर्दशनी तथा बिक्रि, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गितसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रर्वद्धन कार्यक्रम समेत राखिएको चेम्बरका महासचिव प्रकाश खड्काले बताउनु भयो ।
धुलाबारी चोक उत्तर तर्फको खाली जमिनमा सञ्चालन हुने महोत्सवमा करीब ६ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको महासचिव खड्काले बताउनु भयो । वहाँले संस्थाको २१ जना कार्यसमिति, आजिवन सदस्य र साधारण सदस्य गरी १०८ जना रहेकाले सबैले एक हजारका दरले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । त्यस्तै अन्य सहयोगीबाट करीब दुई लाख संकलन गरिने र मेचीनगर नगरपालिकाबाट न्युनतम तीन लाखको अपेक्षा गरेको खड्काले बताउनु भयो । ‘हामीले नगरपालिकासंग ठुलो अपेक्षा राखेका छौं,’ पत्रकार सम्मेलनमा खड्काले भन्नुभयो, ‘यस क्षेत्रलाई आर्थिक रुपमा चलायमान बनाउन नगरपालिकाले सहयोग गर्छ भन्ने विश्वास छ ।’
पत्रकार सम्मेलनमा चेम्बरका कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थीति रहेको थियो ।