धुलाबारी, पुस २२ । संविधान संशोधनको तयारी चलिरहँदा सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो हुने दलले पाँच वर्ष सरकार संचालन गर्ने गरी संविधान संशोधनको नयाँ प्रस्ताव गर्नु भएको छ । उहाँले प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मत बढी पाउने राजनितिक दलले पाँच बर्षको पुरा अवधी सरकार सञ्चालन गर्न पाउने गरी संविधान संशोधनको नयाँ अवधारण प्रस्तुत गर्नु भएको हो ।
नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई आइतबार गृहनगर धुलाबारीमा सम्बोधन गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘यही व्यवस्था र संविधान भित्र रहेर संविधान संशोधन हुन्छ, पहिलो हुने दलले पाँच वर्ष सरकार संचालन गर्ने संवैधानिक व्यवस्थाको ग्यारेन्टीसहित संविधान संशोधन हुन्छ ।’
‘प्रत्यक्षको सिट संख्या र लोकप्रिय मतमा बढी मत ल्याउने दलले पाँच बर्ष सरकार चलाउने व्यवस्था गर्नु पर्छ,’ शर्माले आफ्नो अवधारणलाई प्रष्ट पार्दै भन्नुभयो, ‘सरकार सञ्चालनका लागि न्यूनतम बहुमतका लागि अपुग भएको सिट संख्या पनि सरकार सञ्चालन गर्ने दलले समानुपातिकबाट पु¥याउन मिल्ने गरी संविधानमा व्यावस्था गर्नु पर्छ ।’ समानुपातिकबाट चयन गर्ने सांसदहरुमा विज्ञहरुमात्रै रहनु पर्ने शर्माको प्रस्ताव छ ।
जलवायु परिवर्तनको विश्वव्यापी चर्चा छ हाम्रो ससदमा को हो विज्ञ शर्माले प्रश्न गर्न भयो । जलवायु परिवर्तन, सञ्चार, पर्यटन, पुर्वाधार जस्ता विषय विज्ञहरुको सूची चुनाव अघि नै दलहरुले सार्वजनिक गर्नु पर्ने र त्यहीबाट समानुपातिक तर्फको सांसद चयन गर्नु पर्ने शर्माको भनाई छ ।
झापा १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका शर्माले भन्नुभयो, ‘संविधान संशोधन भनेको सांसदको संख्या घटाउने कुरा मात्रै होईन देशलाई स्थायी सरकार दिने बिषयमा पनि केन्द्रीत हुन्छ ।’ एउटै व्यक्ति पाँच बर्षसम्म प्रधानमन्त्री भइरहने कि फेरिने भन्ने बिषयमा पनि शर्माले नयाँ किसिमको अवधारण प्रस्तुत गर्नु भएको छ । ‘सरकार सञ्चालन गर्ने संसदीय दलको नेताले पहिलो दुई बर्ष प्रधानमन्त्री हुन्छ,’ शर्माले भन्नुभयो, ‘तर उसले दुई बर्ष पछि आफ्नै संसदीय दलमा गएर विश्वासको मत लिनु पर्छ ।’ शर्माका अनुसार विश्वासको मत दिन विभिन्न सूचकांक बनाउनु पर्छ र ती सूचकांकमा उतिर्ण भए मात्रै उसलाई विश्वासको ममत दिने नत्र अर्को संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनु पर्ने व्यवस्था संविधानमै राख्नु पर्छ ।
धुलाबारीको अतिथि सदनमा काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन क्षेत्रीय भेलामा काँग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउकुमार थेवे, प्रदेश सदस्य विमल आचार्य र शोभा श्रेष्ठ नेम्वाङ्ग, महासमिति सदस्य राम कट्टेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्षेत्रीय उपसभापति सन्तोस न्यौपानेले स्वागत मन्तव्य गरेको भेलाको सञ्चालन क्षेत्रीय सचीवद्वय सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराईले गर्नु भएको थियो ।