मेचीनगर,पुस १६ । झापाको मेचीनगर नगरपालिकाले दुई हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरुको पहिचान गरि परियच पत्र वितरण गरेको छ ।
१५ वटै वडामा सञ्चालित अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण शिविरका क्रममा अपांगता भएका व्यक्तिहरुको पहिचान गरि परियच पत्र वितरण गरिएको हो । मेचीनगरमा पुस १ गते सुरु भएको वडास्तरीय शिविर हिजो मेचीनगर वडा नं. १५ मा पुगेर सम्पन्न भएको छ ।
मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरुले अपांगता पहिचान गर्नुका साथै नगरपालिकाले स्थलगत रुपमा शिविरमै परिचय पत्र वितरण गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरी लगायत ६० जनालाई परिचालन गरिएको थियो ।
चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचय पत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमा समेत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
मेचीनगर नगरपालिका,कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साक्षेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन भएको नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।