झापा,पुस ७ । नेपाली क्रिकेट इतिहासमा सर्वाधिक चर्चित बनेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । हिजो जनकपुर बोल्ट्स् र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समापनसँगै एनपीएल सकिएको हो । मंसिर १५ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले उचालेको छ ।
उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार साथै संसारकै सर्वोच्च सगरमाथा शिखर नजिकै रहेको कालापत्थरको ढुंगा राखेर बनाइएको एनपीएलको ट्रफी प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा पाएको छ । तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाएको छ ।
एनपीएलको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ऐरीले ६२ लाख मूल्य बराबरको ओमोडाको ई–५ ईभी कार पाएका छन् ।
यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
एनपीएलको प्लेयर अफ दी सिरिज सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए । उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
यस्तै इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रतियोगितामा आठ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए । पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ ।