झापा, पुस ३ । झापाको मेचीनगरका विद्यालयमा सेनिटरी प्याड सकिएको ६ महिना भइसक्यो तर अझै पनि नगरपालिकाले सेनिटरी प्याड खरिद गरेको छैन । प्याड किन्ने रकम पनि संघीय सरकारले नै उपलब्ध गराउँछ तर पनि नगरपालिकाले खरिद गरेर विद्यालयलाई प्याड दिन सकेको छैन ।
चालु आर्थिक बर्ष २०८१/०८२ का लागि मात्रै मेचीनगर नगरपालिकाका विद्यालयका लागि सेनिटरी प्याड खरिद गर्न संघीय सरकारले ४८ लाख ९ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । आर्थिक बर्षको ५ महिना बितिसक्दा पनि नगरपालिकाले प्याड किनेको छैन । नगरपालिकाको अन्तरशाखा द्वन्दका कारण गत बर्ष पनि सेनिटेरी प्याड खरिद नहुँदा त्यसका लागि संघीय सरकारले छुट्याइएको करीब ५० लाख रकम फिर्ता गएको थियो । यो बर्ष पनि नगरपालिकाले अहिलेसम्म सेनिटरी प्याड खरिद गर्ने आदेश दिइसकेको अवस्था छैन । जबकी प्याड नै नभएका कारण विद्यालयमा छात्राहरु समस्यामा परिरहेका छन ।
महिनावारीको समयमा विद्यालयले प्याड दिन नसक्दा छात्राहरु कक्षा छोडेर घर जाने गरेको मेचीनगर २ स्थीत भानु माविका प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले बताउनु भयो । ‘विद्यालयमा सेनिटरी प्याड सकिएको ५/६ महिना भयो,’ तिम्सिनाले भन्नुभयो, ‘प्याड नहुँदा धेरै समस्या छ, महिनावारी हुँदा छात्राहरु विद्यालय नआउने, विद्यालयमै भएका बेला महिनावारी हुँदा कक्षा छोडेर जाने समस्या धेरै छ ।’
‘गतसाल पनि नगरपालिकाले सेनिटरी प्याड दिएन अहिले पनि दिएको छैन,’ बालसुबोधनी मावि मेचीनगर १४ का प्रधानाध्यापक विश्व थापाले भन्नुभयो, ‘कति छात्राले आफैंले किनेर लगाउँछन, किन्न नसक्नेहरु पनि छन, उनीहरुले त कक्षा नै छोडेर घर जान्छन ।’ विद्यालयले सेनिटरी प्याड दिन नसक्दा धेरै समस्या आएको थापाले बताउनु भयो ।
मेचीनगर १५ स्थीत ज्यामिरगढी माविमा पनि समस्या उस्तै छ । ज्यामिरगढी माविका प्रधानाध्यापक शान्तिराम चौलागाईका अनुसार विद्यालयले प्याड किनेर दिने बजेट हुँदैन, नगरपालिकाले गत बर्षदेखि नै सेनिटरी प्याड नदिएकाले समस्या थपिएको छ । ‘केही छात्रा त महिनावारीको समयमा विद्यालय नै नआउने समस्या भएको छ,’ चौलागाईले भन्नुभयो, ‘विद्यालयमा पनि विचमै विदा मागेर घर जाने छात्राको संख्या बढ्दो छ ।’
कोशी प्रदेशमै उच्च विद्यार्थीसंख्या भएको मध्ये एउटा विद्यालयका रुपमा रहेको मेचीनगर १० स्थीत धुलाबारी माविमा पुरानै भण्डारणमा रहेको सेनिटरी प्याडले काम चलाइरहेको र अब त्यो पनि अब सकिन लागेकोले समस्या निम्तिन सक्ने प्रधानाध्यपक महेन्द्र विलास लुईटेल बताउनु हुन्छ । ‘पुरानो स्टकबाट व्यवस्थापन गरिरहेका छौं तर अब त्यो पनि सकिन लाग्यो,’ लुइटेलले भन्नुभयो ।
वालिकाहरुको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको संवेदनशील बिषयमा मेचीनगर नगरपालिकाको कार्यालय किन मौन बसेको हो आफुले थाहा नपाएको मेचीनगर १३ स्थीत शहिद दशरथचन्द माविका प्रधानाध्यापक तथा शिक्षक महासंघ मेचीनगरका पुर्व अध्यक्ष लेखनाथ पौडेलले बताउनु भयो । ‘पैसा पनि छ, तर किन प्याड खरिद हुँदैन, पौडेलको प्रश्न छ ।
मेचीनगर शिक्षा शाखाको तथ्याङ्क अनुसार नगरमा कक्षा ६ देखि कक्षा १२ मा अध्ययन गर्ने छात्राको संख्या ४५८५ जना छ । जसलाई महिनामा दुई प्याकेट सेनिटरी प्याड दिनु पर्छ । नगरको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा नगरभरिका छात्रालाई प्याड दिन ९१ हजार ७०० प्याकेट सेनिटरी प्याडको आवश्यकता पर्छ । एक प्याकेटमा ८ वटा सेनिटरी प्याड हुने शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै नगरपालिकाकै बजेटबाट नगरका तीन वटा क्याम्पस त्रिदेव क्याम्पस चारआली, काकरभिट्टा क्याम्पस र मेचीनगर पोलिटेक्निक इन्स्टीच्यूटका छात्राहरुका लागि पनि सेनिटेरी प्याड खरिद गरेर वितरण गर्ने निति लिएको छ । त्यसका लागि नगरपालिकाले ३ लाख बजेट छुट्याएको छ । ती क्याम्पसहरुमा १०२७ छात्राहरु अध्ययनरत छन । उनीहरुलाई समेत नगरपालिकाले प्याड उपलब्ध गराएको छैन ।
विद्यालय र क्याम्पसका छात्राहरुका लागि सेनिटरी प्याड खरिदका लागि शिक्षा शाखाबाट २०८१ भदौ ९ गते नै टिप्पणी उठाएर पठाएको र सोही दिन प्रमुख प्रशासकीय अधिकृतबाट सदर समेत भएको छ । टिप्पणी आदेश सदर भएको पनि यति लामो समय बितिसक्दा समेत पनि सेनिटरी प्याड किन खरिद भएन भन्ने विषयमा नगरको शिक्षा शाखा बेखबर छ । ‘हामीले हाम्रो तर्फको सबै काम सकेर प्रशासनमा पठाएका हौं,’ शिक्षा शाखाका लोकबहादुर दाहालले भन्नुभयो, ‘टिप्पणी पनि सदर भाको पनि चार महिना भयो किन प्याड किनिएन त्यस बारेमा शाखालाई जानकारी छैन ।’
सेनिटरी प्याड खरिदको सबै प्रक्रिया पुरा भएको र अब केही दिनमै प्याड खरिद गरेर वितरण गर्ने मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले बताउनु भयो । खरिद समितिमा रहेका कर्मचारीहरुको समय नमिलेर बैठक बस्न नसकेकाले खरिद प्रक्रिया ढिलो भएको अधिकारी बताउनु हुन्छ ।