झापाको बाहुनडाँगी जेसीजले तत्काल रगतको आवश्यकता भएका बिरामीका लागि १०३ पिन्ट रगत उपलब्ध गराएको छ । सन २०२४ को अध्यक्षमा देबु बानियाँले आफ्नो कार्यकालको सूरुवात गरेदेखि नै बिरामीका लागि तत्काल रगत आवश्यक भएको अवस्थामा रगत उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्नु भएको थियो ।
विभिन्न अस्पतालमा उपचाररत विरामीहरुका लागि सम्भव भएसम्म आफ्ना सदस्यबाट र सम्भव नभएको अवस्थामा पनि अन्य व्यक्ति तथा संस्थाहरुसंगको समन्वयमा रगत उपलब्ध गराउँदै आएको छ । झापाको विएण्डसी अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि २२ पिन्ट, विर्तासिटी अस्पतालमा १५ पिन्ट, मोनमोहन अस्पतालमा ५ पिन्ट, कनकाइमा ३ पिन्ट रगत विरामीका लागि उपलब्ध गराएको बाहुनडाँगी जेसीजका रक्तदाता समूहका संयोजक एलिस पौडेलले जानकारी दिनुभयो । त्यस्तै आम्दा अस्पताल दमकमा १२ पिन्ट, मेची प्रादेशिक अस्पताल भद्रपुरमा ८ पिन्ट, ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा ८ पिन्ट रगत ती अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि उपलब्ध गराएको संयोजक पौडेलले बताउनु भयो ।
बाहुनडाँगी जेसीजले झापा जिल्ला बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि पनि रगतको व्यवस्थापनको काम गरेको रक्तदाता समूहका सदस्य प्रविण चापागाईले बताउनु भयो । बाहुनडाँगी जेसीजको समन्वयमा भरतपुर क्यान्सर अस्पताल चितवनमा ५ पिन्ट, नोबल अस्पताल विराटनगर ११ पिन्ट, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ पिन्ट, ग्राण्डी अस्पताल काठमाडौँमा २ पिन्ट, र भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा ३ पिन्ट रगत ती अस्पतालहरुमा उपचार गराइरहेका बिरामीहरुका लागि उपलब्ध गराइएको चापागाईले बताउनु भयो ।
‘विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका बिरामीका लागि फ्रेस रगत आवश्यक भएमा विभिन्न सम्पर्कबाट हामीसंग जोडिनु हुन्थ्यो,’ बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँले भन्नुभयो, ‘हामीले अवस्था हेरेर हाम्रै सदस्यबाट वा अन्य संस्था र व्यक्तिहरुलाई सम्पर्क गरी रगत उपलब्ध गराएका छौं ।’
खास गरी सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाबाट घाइते, मृगौला विरामी र विभिन्न कारणले रगतको अभाव भएका बिरामीलाई हामीले तत्काल फ्रेस रगत उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेर सहयोग गरेको अध्यक्ष बानियाँले बताउनु भयो ।
बाहुनडाँगी जेसीजले एक बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गरी १६२ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी झापालाई उपलब्ध गराएको अध्यक्ष बानियाँले बताउनु भयो । त्यस्तै यो बर्षको उत्कृष्ट रक्तदाता स्वयम सेवकका रुपमा बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँ सहित चार जना सदस्यलाई नेपाल रेडक्रस सोसाइटी झापाले सम्मान समेत गरेको छ ।