मेचीनगर,पुष २। झापाको मेचीनगरमा सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर आज मेचीनगरको वडा नम्बर २ मा जारी रहेको छ ।
शिविरको दोस्रो दिन आज मेचीनगर वडा नं. २ को कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरणको काम भइरहेको मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।
अपांगता भएकाहरुको पहिचान र परिचय पत्र वितरणका लागि नगरपालिकाले विशेष स्वास्थ्य शिविरसहित १५ दिने शिविर हिजोबाट सञ्चालन गरेको हो । नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरिने छ । प्रत्येक वडामा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो ।
अब भोली वडा नम्बर ३ मा शिविर सञ्चालन हुने छ । त्यसैगरि प्रत्येक वडामा क्रमश शिविर सञ्चालन गरेर पुष १५ गते वडा नम्बर १५ मा पुगेर शिविर समापन हुनेछ । शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्वीलचियर, कृत्तिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु समेत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । नगरले आवश्यक कागजातको साथमा उपस्थित भएर आ आफनो वडामा सञ्चालन हुन लागेको शिविरमा उपस्थित हुन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरेको छ ।
मेचीनगर नगरपालिका,कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साक्षेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो ।