मेचीनगर ,मसिंर २३। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर–१ लाई पनि झापा–५ लाई जत्तिकै माया गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
दुइ दिने कार्यक्रमका लागि प्रधानमन्त्री ओली गृहजिल्ला झापा आएको मौका पारेर महामन्त्री शर्माले आफनो निर्वाचन क्षेत्रलाई माया गरिदिन आग्रह गर्नुभएको हो । झापा–५ प्रधानमन्त्री ओलीको तथा झापा–१ शर्माको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्री ओली आज दुई दिने कार्यक्रम तय गरेर झापा आइपुग्नु भएको छ । प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगीमा मानव सेवा आश्रमको मेचीनगर सेवा केन्द्रको उदघाटन गर्नुभएको छ ।
प्रधानमन्त्री आफ्नो गृहनगर आएको बेलामा भिडियो सन्देशमार्फत् शर्माले झापा–१ का समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको छ । ‘झापा–१ लाई पनि झापा ५ जत्तिकै माया गरिदिनु हुनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’ शर्माले भन्नुभएको छ ।
झापा–१ मा भैरहेका कार्यहरूमा पर्याप्त बजेट हुन नसक्दा असर परिरहेको भन्दै शर्माले भन्नुभएको छ, ‘कतिपय कार्यक्रम सुरु गर्नकै लागि नागरिकको अपेक्षा त्यहाँ पुगेको बेला पूरा गर्नु नै हुनेछ ।’
झापा–१ का नागरिक जंगली हात्तीबाट प्रताडित भएको हुँदा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै झापा–१ मा धनीपुर्जा पाउन नसकेको समस्या, भारतले नाकालाई सहज नबनाइदिदाँ सीमा क्षेत्रका व्यवसायीले धेरै समस्या भोगिरहेको बारेमा पनि शर्माले ध्यानाकर्षण गराउनुभएको छ ।
६ महिना अघि नै निर्धारित कार्यक्रम अनुसार खुम्बु पदयात्रामा रहेको कारणले प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा सहभागी हुन नसकेको बताउदै शर्माले पदयात्रामा निस्केका कारणले शनिबार भएको पार्टीको कोशी प्रदेशको सम्मेलनमा समेत सहभागी हुन नसकेको जानकारी गराउनुभएको छ ।