झापा, मंसिर १६ । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन ।उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनु भयो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले आग्रह गरेको छ ।
झापामा पनि कनकाइ नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदकालाई आज मतदान हुँदैछ । नेपाली काँग्रेसका रामगोपाल ओली, नेकपा एमाले तुलाराम बस्नेत, माओवादी केन्द्रका गणेशबहादुर थापा, राप्रपाका नारायण निरौला वडा अध्यक्षका उम्मेद्वार छन भने २०७४ मा वडा अध्यक्ष रहनु भएका लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । सबै राजनितिक दल आआफ्ना उम्मेद्वार जिताउन लागेका छन भने रास्वपाले स्वतन्त्र उम्मेद्वारी दिनु भएको लक्ष्मीप्रसाद ओलीलाई समर्थन गरेको छ ।
मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध मिलाएको निर्वाचन आयोगले जनाएको छ । मतदातालाई यातायात सुविधा प्रदान गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । निर्वाचन आयोगको अनुरोधमा मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदा समेत दिइएको छ ।