धुलाबारी, मंसिर १६। झापाको मेचीनगर नगरपालिका कार्यालयले सडक निर्माण गर्ने नाममा गरीब विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक विद्यालयको कक्षा कोठा भत्काएर धनी व्यापारीको घर जोगाएको छ । मेचीनगर वडा नं. ९ र १० को शहिद मार्ग निर्माण गर्ने क्रममा बजारका व्यापारीको घर जोगाउन गाउँको सामुदायिक विद्यालयको कक्षा कोठा नै भत्काएको खुलासा भएको छ ।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको शहिद मार्ग अन्तर्गत धुलाबारी चोकदेखि उत्तर तर्फ पाँच किलोमिटर ४७० मिटर लम्बाईको सडक निर्माणका क्रममा नगरपालिकाले व्यापारीको घर जोगाउन सडकको मापदण्ड नै परिवर्तन गरेको खुल्न आएको हो ।
धुलाबारी बजारका व्यापारीसंगको मिलेमतोमा नगरपालिकाले सडकको मापदण्ड नै परिवर्तन गरी बजार क्षेत्रमा सडकको चौडाई ५ देखि ६ मिटर साँघुरो बनाएको छ । सडकको मापदण्डका कारण मेचीनगर ९ को ग्रामिण क्षेत्रमा रहेको कविशिरोमणी माविको १० वटा कक्षा कोठा भत्काएको मेचीनगर नगरपालिका कार्यालयले सोही सडकको सबैभन्दा व्यस्त धुलाबारी बजार क्षेत्रमा भने सडकको मापदण्ड नै परिवर्तन गरी व्यापारीको घर जोगाईदिएको छ । बजार क्षेत्रमा सडकको चौडाई ५ देखि ६ मिटरसम्म घटाएर अधिकाशं घर जोगाउने गरी सडक निर्माणको मापदण्ड परिवर्तन गरिएको हो ।
सडकको मापदण्ड भित्र परेको भन्दै नगरपालिकाले विद्यालयको दश वटा कक्षा कोठा काम नलाग्ने गरी भत्काएको कवि शिरोमणी माविका निमित्त प्रधानाध्यापक दामोदर ढुङ्गेलले बताउनु भयो । ‘कक्षा कोठा ७ देखि ८ फिटसम्म भत्काइएको छ,’ प्रधानाध्यापक ढुङ्गेलले भन्नुभयो, ‘अब ति कक्षा कोठा मर्मत गरेर हुँदैन, नयाँ नै बनाउनु पर्छ ।’
वहाँका अनुसार कक्षा कोठा सहित वाल क्लवको कोठा, विद्यार्थीका लागि खाजा तयार गर्ने कोठा, प्राथमिक स्वास्थ्य उपचार गर्ने कोठा, विद्यालयको क्यान्टिन सबै भत्किएको छ । विद्यार्थी विरामी हुँदा सुताउने र प्राथमिक उपचार गर्ने कोठा समेत भत्किए पछि समस्या भएको ढुङ्गेलले बताउनु भयो ।
एसईई र कक्षा १२ को परीक्षा केन्द्र समेत रहेको कवि शिरोमणी माविमा आगामी परीक्षामा यस अघिको जतिको संख्यामा विद्यार्थीलाई परीक्षामा सहभागि गराउन समेत कक्षा कोठाको अभाव हुने प्रधानाध्यापक ढुङ्गेलले बताउनु भयो । कक्षा नर्सरी देखि कक्षा ५ सम्मका करीब १५० विद्यार्थी नियमित अध्ययन गर्ने कक्षा कोठा सबै सडक निर्माणमा भत्किए पछि अहिले अध्ययन गराउनै समस्या परिरहेको ढुङ्गेलले बताउनु भयो । वहाँका अनुसार अहिले कार्यक्रम गर्ने सभा हल, पुराना भइसकेका कोठाहरु, पुस्तकालय लगायतमा राखेर विद्यार्थीलाई अप्ठ्यारो गरी पठनपाठन गराउनु परेको छ । कविशिरोमणी मावि मुलुकमै लोपोन्मुख जातिका रुपमा रहेको किसान जाति बसोबास रहेको वडाको एक मात्रै माध्यमिक विद्यालय हो ।
मापदण्ड परिवर्तन गरे पछि बजार क्षेत्रका अधिकाशं घर भत्किनबाट जोगिएका छन । यतिसम्मकी धुलाबारी चोक उत्तर पुर्वको ऐलेनी जग्गामा बनेका घरहरुको पनि बरण्डाको भाग मात्रै भत्काउँदा हुने गरी सडकको मापदण्ड नै परिवर्तन गरिएको छ । त्यसमा पनि सडकको नाला निर्माण हुने क्षेत्रमा घरको पेटी भत्काइएको छ तर नालाको माथी रहेको भाग भने भत्काएको छैन । ‘हामीले सडक र नाला बनाउने क्षेत्र मात्रै खाली गरेर काम गर्ने हो,’ सडक निर्माणमा खटिएका एक जना प्राविधिकले भन्नुभयो, ‘पहिलो तलाको भाग हामी भत्काउँदैनौं ।’
शहिद मार्गको धुलाबारी चोकबाट २७० मिटर क्षेत्रमा सडकको चौडाई नाला सहित १२ मिटर ६० सेन्टीमिटर कायम गरेर धमाधम निर्माण कार्य भइरहेको छ । धुलाबारी बजारको सबैभन्दा व्यस्त हुने क्षेत्र चोकबाट उत्तर ट्याक्सी स्टेनसम्मको क्षेत्र हो जुन क्षेत्रको सडक सबैभन्दा कम चौडाईको निर्माण हुने भएको हो ।
सडकको चौडाईलाई तीन खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको मेचीनगरका इन्जिनियर प्रदिप राजबंशीले बताउनु भयो । पहिलो खण्ड अन्तर्गत धुलाबारी चोकबाट २७० मिटर उत्तरसम्म नाला सहित १२ मिटर ६० सेन्टीमिटर चौडाईको सडक हुनेछ, दोस्रो खण्डमा एक किलोमिटर ५९० मिटर क्षेत्रमा नाला सहित १३ मिटर २० सेन्टीमिटर चौडाई र तेस्रो खण्डमा बाँकी रहेको अर्थात ३ किलोमिटर ६१० मिटर क्षेत्रमा सडकको चौडाई नाला सहित १८ मिटर हुने इन्जिनियर राजबंशीले बताउनु भयो ।
सूरुमा सडकको चौडाई सबैतिर १८ मिटर नै कायम गर्ने गरी नक्सा पारित गरिएको थियो । बजार क्षेत्रका व्यापारीहरुसंगको मिलेमतोमा नगरपालिकाले सडकको मापदण्ड परिवर्तन गरी गाउँमा १८ मिटर र बजार क्षेत्रमा १२ र १३ मिटर चौडाई कायम गरी सडक निर्माणको ठेक्का लगाएको नगरपालिकास्रोतले जानकारी दिएको छ । बजार क्षेत्रमा पञ्चायतकालमा नै निर्माण भएका घरहरु रहेकाले भत्काउन नसकिएको मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनु भयो ।
२७ करोड २१ लाख ३ हजार ९३१ रुपैया लागतमा निर्माण भइरहेको शहिद मार्ग अन्तर्गत धुलाबारी चोक उत्तर तर्फको सडक आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी निर्माण व्यवशायीसंग नगरपालिकाले सम्झौता गरेको छ ।