झापा,मसिंर १५ । झापा,मोरङ र सुनसरीमा सवारी साधनका लागि टाइम कार्ड लागू भएको छ। कोशी प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेपछि आजदेखि टाइम कार्ड लागू गरिएको हो।
मोरङको सुन्दरहरैँचा–७ स्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको हो।
जसअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । त्यस्तै झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ।
यसैगरी विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ।
तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताउनुभयो ।
पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा,बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी,लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुनेछ । कोशी प्रदेशमा केही समय यता अत्यधिक दुर्घटनामा भएको छ । पछिल्लो दुई सातामा मात्रै सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।