झापा, मंसिर १५ । नेपाली क्रिकेटको महाकूभ्म सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरू हुँदैछ । आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन । कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुँदैछ । खेलअघि उद्घाटन समारोह हुनेछ । एनपिएलको ट्रफी यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसक्नु भएको छ ।
उद्घाटन खेलको सबै दस हजार टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उद्घाटन खेलको टिकट साधारणतर्फ ३ सय रूपैयाँ र भीआइपीतर्फ ७ सय रूपैयाँ तोकिएको थियो । एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोट्र्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोट्र्स युट्युब च्यानलबाट हुनेछ । नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ । एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ ।
विराटनगर किंग्सको मार्की खेलाडी लेग स्पिनर सन्दीप लामिछाने छन । आयरल्याण्डका केभिन ओ’ब्रायन मुख्य प्रशिक्षक रहेको टिममा पाँच विदेशी खेलाडी छन्। । ओमानका अकिब इलियास, न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। नेपाली खेलाडीहरूमा लामिछानेसहित लोकेश बम,प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ छन । एमडी ड्रिम्स स्पोट्र्सको स्वामित्वमा रहेको विराटनगरका मालिक पारस लुनिया र वेंकटेश मुन्द्रा छन्। । उनीहरूले विराटनगर किंग्स १ करोड ५१ लाखमा किनेका हुन ।
उदघाटन खेलको अर्को टोली जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख छन । उनी राष्ट्रिय टिमका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान हुन । जनकपुरमा आशिफसँगै सिनियर राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अनीलकुमार साह र स्पिनर ललित राजवंशी छन । जनकपुरका कप्तानका रुपमा अनीलकुमार शाह रहेका छन । त्यस्तै यू १९ टोलीका कप्तान हेमन्त धामी पनि बोल्ट्समै छन्। । उनी यू १९ एसिया कप खेल्न युएईमा छन्। । अन्य खेलाडीहरुमा रूपेश सिंह,किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर छन ।
जनकपुरमा ६ जना विदेशी खेलाडी छन । न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्याण्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन । टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन्। । उनले नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको भूमिका निभाइसकेका छन्। । जनकपुरलाई ड्रिम स्पोट्र्स प्रालिले २ करोड ५ लाख रूपैयाँमा खरिद गरेको थिए । उद्घाटन खेल हेर्न त्रिवि मैदानमा दस हजारभन्दा बढी क्रिकेटप्रेमीहरूको उपस्थिती रहनेछ ।