मेचीनगर, मंसिर १४ । झापाको मेचीनगर नगरपालिका वडा नं. ९ र १० को मख्य बजार क्षेत्र रहेको धुलाबारी बजार उत्तरतर्फको सडक खुम्चिने भएको छ । विश्व बैंकको सहयोगमा निर्माण भइरहेको धुलाबारी चोक उत्तर तर्फको सडक बजार क्षेत्रमा चौडाई कम हुने भएको हो ।
धुलाबारी चोकबाट उत्तर तर्फ शहिद मार्गको ५ किलोमिटर ४७० मिटर लम्बाईको सडक अहिले धमाधम निर्माण भइरहेको छ । निर्माणाधिन शहिद मार्ग अन्तर्गत व्यस्त बजार क्षेत्रमा सबैभन्दा कम चौडाई हुने र ग्रामिण क्षेत्रमा बढी चौडाई हुने गरी धमाधम सडक निर्माणको काम भइरहेको छ ।
उक्त सडकको धुलाबारी चोकबाट २७० मिटर क्षेत्रमा सडकको चौडाई नाला सहित १२ मिटर ६० सेन्टीमिटर हुने मेचीनगर नगरपालिकाका इन्जिनियर प्रदिप राजबंशीले बताउनु भयो । वहाँका अनुसार दुवै तर्फ ८० सेन्टीमिटरको नाला रहनेछ । धुलाबारी बजारको सबैभन्दा व्यस्त हुने क्षेत्र चोकबाट उत्तर ट्याक्सी स्टेनसम्मको क्षेत्र हो जुन क्षेत्रको सडक सबैभन्दा कम चौडाईको निर्माण हुने भएको हो ।
इन्जिनियर राजबंशीका अनुसार सडकको चौडाईलाई तीन खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको छ । पहिलो खण्ड अन्तर्गत धुलाबारी चोकबाट २७० मिटर उत्तरसम्म नाला सहित १२ मिटर ६० सेन्टीमिटर चौडाईको सडक हुनेछ, दोस्रो खण्डमा एक किलोमिटर ५९० मिटर क्षेत्रमा नाला सहित १३ मिटर २० सेन्टीमिटर चौडाई र तेस्रो खण्डमा बाँकी रहेको अर्थात ३ किलोमिटर ६१० मिटर क्षेत्रमा सडकको चौडाई नाला सहित १८ मिटर हुने इन्जिनियर राजबंशीले बताउनु भयो ।
शहिद मार्गको निर्माणमा पुरै क्षेत्रमा समान १० मिटर चौडाईको कालोपत्रे हुने तर फुटपाथ भने ठाउँ अनुसार धेरै र थोरै रहने गरी निर्माणको कार्य भइरहेको मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनु भयो । ‘कालोपत्रे माथिदेखि तलसम्म नै बराबर हुन्छ,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘बजार क्षेत्रमा फुटपाथको क्षेत्र मात्रै सानो हुने हो ।’ फुटपाथमा पर्ने बजार क्षेत्रमा रहेका पुराना घरहरु नभत्काउने नगरप्रमुख बुढाथोकीले बताउनु भयो । ‘पञ्चायतकालमै बनेका घरहरु छन,’ वहाँले भन्नुभयो, ‘ती घरहरु भत्काउँदैनौं ।’
सूरुमा सडकको चौडाई सबैतिर १८ मिटर नै कायम गर्ने गरी नक्सा पारित गरिएको भए पनि विभिन्न चरणको छलफलबाट नगरपालिकाले सडकको नक्सा संसोधन गरी बजार क्षेत्रको चौडाई घटाएको नगरपालिकास्रोतले जानकारी दिएको छ ।
२७ करोड २१ लाख ३ हजार ९३१ रुपैया लागतमा निर्माण भइरहेको शहिद मार्ग अन्तर्गत धुलाबारी चोक उत्तर तर्फको सडक आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी निर्माण व्यवशायीसंग नगरपालिकाले सम्झौता गरेको छ ।