बिर्तामोड, मंसिर १० । परम्परागत रुपमा विभिन्न कार्य गर्दा प्रयोग गरिने दुना टपरी बनाउने कला नयाँ पुस्तामा पनि सिकाउनु पर्छ भन्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल झापा शाखाले आज विद्यार्थीहरुलाई दुना टपरी बनाउने तालिम दिएको छ । बिर्तामोडस्थीत मोहनमाया माद्यमिक विद्यालयका मावि तहमा अध्ययनरत विद्यार्थीका लागि एक दिने दुना टपरी बनाउने तालिम आज सञ्चालन गरेको संघकी अध्यक्ष सुस्मा पौडेलले बताउनु भयो ।
पर्यावरणीय दृष्टिकोणले समेत उपयुक्त मानिएको र कम खर्चमा घरमै बनाउन सकिने उपयोगी दुना टपरीलाई प्लाष्टिकका सामग्रीले विस्तापित गर्दै लगेका कारण नयाँ पुस्तामा दुना टपरीको प्रयोग गर्न सिकाउने योजना अनुसार विद्यार्थीहरुलाई तालिम दिईएको अध्यक्ष पौडेलले बताउनु भयो । ३० बढी छात्र छात्रा सहभागि भएको तालिममा अञ्जना अधिकारी, वेदकुमारी सुवेदी, दुर्गा अधिकारी, गोमा प्रसाई र बिना प्रसाईले विद्यार्थीहरुलाई दुना टपरी बनाउन सिकाउनु भएको थियो ।
मोहनमाया माविको पुस्तकालय हलमा सम्पन्न तालिम कार्यक्रमको उदघाटन सत्रमा सोही माविकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौला बस्नेतले विद्यार्थीहरुलाई नयाँ शीप सिकाउने तालिम सञ्चालन गर्दा परम्परागत संस्कृति संरक्षणमा समेत टेवा पुग्ने बताउनु भयो । वहाँले यो तालिम विद्यार्थीहरुको सिकाईका लागि उपलब्धी मूलक हुने समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक शेर बहादुर श्रेष्ठले अहिलेको प्लाष्टिकका सामग्री भन्दा रुखका पातबाट निमार्ण गरिने दुना टपरी अत्यन्तै फाइदाकारक भएको र कम मुल्यमा समेत तयार हुने भएकोले यो तालिम उपयोगी भएको बताउनु भयो । कार्यक्रममा संघकी संस्थापक अध्यक्ष गोमा भट्टराईले सिकाईलाई नै सहयोगी हुने गरी विद्यार्थीहरुका लागि यो तालिम सञ्चालन गरेको बताउनु भयो ।
संघकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने महासचिव यशोदा तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा महिला उद्यमी संघका पदाधिकारी र सदस्यहरु, विरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, निवर्तमान अध्यक्ष संगिता गिरी लगायतको उपस्थीति रहेको थियो ।