काकरभिट्टा, मंसिर १० । “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” को पहिलो दिन आज झापाको मेचीनगर नगरपालिकाले प्रभात फेरी निकालेको छ । नगरका विभिन्न संघ संस्थाको सहभागिता रहेको प्रभात फेरीले आज विहान पुर्वी नेपालको सिमान्त शहर काकरभिट्टा बजार क्षेत्र परीक्रमा गरेको थियो ।
प्रत्येक बर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ सम्म विश्वव्यापी रुपमा मनाईने “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” यस बर्ष “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मनाईदैछ । अभियानको शुरुवात गर्दै मेचीनगर नगरपालिकाले सबैखाले हिंसा विरुद्ध सचेतना जनाउने उद्देश्यले चेतना मूलक प्रभात फेरि निकालिएको मेचीनगरकी महिला विकास शाखा प्रमुख जयन्ती खरेलले बताउनु भयो ।
“घरैबाट सुरू गरौं महिला हिंसा अन्त्य गरौँ”, “बाल बिवाह रोकौं सभ्य समाजको निर्माण गरौं”, “लैगिक हिंसा बिरूद्ध ऐक्यबद्धता सम्मान समानता र न्यायको यात्रा”, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, हाम्रो समाज” लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित इलाका प्रहरी कार्यालय काकरभिट्टा छेउबाट सूरु भएको प्रभातफेरीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाईन, गुरास पथ, वडा कार्यालय रोड, बसपार्क, मुख्य राजमार्गलगायत काँकरभिट्टा बजारको मुख्यः मुख्यः स्थानको परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।
मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको सभापतित्वमा सम्पन्न कोणसभामा बोल्दै हिला महिला अधिकारकर्मी राधा प्रधानले जबसम्म महिला र पुरुषमा कामको समान बाँडफाँड गरिदैंन तबसम्म समाजमा महिला हिंसा अन्त्य नहुने बताउनु भयो । वहाँले लैगिक हिंसा भनिएता पनि मूलत नेपाल समाजमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको बताउुन भयो ।
कार्यक्रमका अर्का बक्ता ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले समाजमा घट्ने जुनसुकै हिंसा भएपनि त्यसलाई कानुनले नछाड्ने बताउनु भयो । वहाँले सानैदेखि पूरुष बलियो हुने र महिला कमजोर हुने भन्ने हाम्रो समाजको परम्परागत धारणाले हिंसालाई बढाउन सहयोग पुगेको दाबी गर्नु भयो । वहाँले हिंसा भएको महशुस भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नु भयो ।
स्थानीय सरकारको हैसियतले आफुहरुले लैंगिक हिंसा बिरुद्ध बर्षैभरी थुप्रै कार्यक्रमहरु अगाडी बढाइरहेको र अभियानको क्रममा समेत विभिन्न कार्यक्रम गरिने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताउनु भयो ।
महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले सञ्चालन गर्नु भएको कार्यक्रम अघि सम्पन्न प्रभात फेरीमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, महिला अधिकारका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाली सेना, नपाल स्काउट, एनसीसी दल, सञ्चारकर्मी, रेडक्रस, राजनीतिक दलका प्रमुख प्रतिनिधि र विद्यार्थीलगायत ठुलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा महिलामाथि हुने सवै खाले हिंसा रोक्न प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।