झापा, मंसिर ६ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रन्चाइज टी २० लिग क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा विदेशी खेलाडीहरुको पनि आकर्षण बढेको छ । विश्व प्रसिद्ध खेलाडीहरु पनि एनपिएलमा खेल्न नेपाल आउँदैछन । आठ वटा टिमका बिच हुने प्रतिस्पर्धामा एउटा टिमले ४ जना विदेशी खेलाडीलाई प्लेइङ ११ मा राख्न पाउँछन भने ४ देखि ६ जनासम्म विदेशी खेलाडीसंग टिममा राख्न सम्झौता गर्न पाउँछन ।
अहिलेसम्म १६ देशका ३७ जना खेलाडी एनपिएलमा खेल्ने निश्चित भइसकेको छ । सबै खेलाडीको सम्झौता रकम नखुलाईको भए पनि अहिलेसम्म प्राप्त जानकारी अनुसार भारतका स्टार खेलाडी शिखर धवन सर्वाधिक महङ्गा खेलाडीका रुपमा एनपिएलमा आउँदैछन । धवनलाई कर्णाली याक्सले एक खेलको ३० हजार अमेरिकी डलर तिर्ने गरी कम्तिमा ४ खेलका लागि अनुबन्ध गरेको छ । धवन भारतमा हुने आइपीएलको सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन ।
अहिलेसम्म विदेशी खेलाडीमा इंग्ल्यान्डबाट सर्वाधिक ८ खेलाडी छन । यस्तै अमेरिकाबाट ४ खेलाडीले एनपिएल खेल्नेछन भने वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३÷३ खेलाडीलाई टोलीहरूले आबद्ध गरेका छन । अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबियाबा २/२ खेलाडी एनपीएल खेल्दैछन । भारतसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङ गरी ७ देशका १/१ खेलाडीले एनपिएल खेल्नेछन ।
कुन टिममा कुन कुन विदेशी खेलाडी छन
विराटनगर किंग्स– अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)
जनकपुर बोल्ट्स– जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका)
चितवन राइनोज– रवी बोपारा (इंग्ल्यान्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)
काठमाडौं गुर्खाज– नाथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)
पोखरा एभेन्जर्स – आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड)
लुम्बिनी लायन्स– बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्डं), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)
कर्णाली याक्स– शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज)
सुदूरपश्चिम रोयल्स– ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई) ।
एनपिएल मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाण्डौको कृर्तिपुरस्थीत क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोट्र्स टेलिभिजनले गर्नेछ ।