मेचीनगर, मंसिर ६ । झापाको धुलाबारीबाट चन्द्रगढी जाने सडक अबरुद्ध भएको पाँच दिन भयो । अझै पनि यो सडक कहिले खुल्ने भन्ने यकिन भइसकेको छैन । मेचीनगर र दक्षीणी इलामा स्थानीयहरु झापाको सदरमुकाम चन्द्रगढी, मेची प्रादेसिक अस्पताल र विमानस्थल जाने व्यस्त सडक पाँच दिनदेखि अबरुद्ध हुँदा पनि तत्काल सडक सञ्चालन गर्ने कुनै तयारी देखिदैंन ।
धुलाबारी–चन्द्रगढी सडकको हडिया पुलमा ठुलो भ्वाङ परे पछि आवागमन ठप्प भएको हो । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा ठूलो भ्वाङ परेका कारण सडक अवरुद्ध भएको छ । हडिया पुलमा विगत एक वर्ष भन्दा अघिदेखि नै सानो भ्वाङ परेको थियो । त्यही बाटो भएर जनप्रतिनिधि, कर्मचारी, राजनितिक दलका नेता लगायत आवात जावात गरिरहे पनि बेलैमा त्यो पुल मर्मत गर्ने तर्फ कसैको चासो देखिएन र मर्मतका लागि सामान्य रकम पनि छुट्याउनु पर्छ भनेर हेक्का राखिएन ।
शनिवार राति हडिया पुलको पश्चिम तर्फ सानो भ्वाङ मुनिको माटो बगेर ठुलो भ्वाङ पर्यो । आइतबार मेचीनगर र भद्रपुरका प्रमुखद्वय गोपालचन्द्र बुढाथोकी र गणेश पाखरेलसंगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले पनि भत्किएको पुलको स्थलगत निरीक्षण गर्नुृभयो । दुवै नगर नेतृत्व र संसदको ठुलो दलको क्षेत्रीय नेतृत्वले समेत निरीक्षण गरे पछि पुल मर्मत हुन्छ र तत्काल बाटो खुलाउने काम हुन्छ भन्नेमा सबै ढुक्क थिए तर त्यस्तो भएन ।
वहाँहरुले निरीक्षण त गर्नु भयो र मर्मतको बजेट नभएको निरीहता प्रस्तुत गर्दै प्रदेश सरकारसंग मर्मतको बजेटका लागि गुहार माग्ने निर्णय गर्नु भयो । पुल मर्मतका लागि जिल्लको पुर्वाधार विकास कार्यालयले २० लाखको स्टमेट निकालेको छ । उक्त रकम दुवै नगरपालिकासंग नभएकाले प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा लेखि पठाएको पुर्वाधार कार्यालय झापाका प्रमुख राजेश्वर महतोले बताउनु भयो । मन्त्रालयबाट बजेट सहमति आए पछि १५ दिने सूचना निकालेर शिलबन्दी बोलपत्र आव्हान गरिने र त्यस पछि मर्मत सूरु हुने महतोको भनाई छ । यसरी हेर्दा यो पुल मर्मत भएर सडक सञ्चालनमा आउन दुई देखि तीन महिनाको समय लाग्ने देखिन्छ ।
झापा क्षेत्र नं. १ को सार्वजनिक महत्वको सडकमा पर्ने धुलाबारी चन्द्रगढी सडकको हडिया पुलमा परेको भ्वाङको भिडियो सामाजिक सञ्जालमा राखेर यस क्षेत्रका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईको ध्यानाकर्षण गराएको लेख्नु भएको छ । सांसद शर्माले सामाजिक सञ्जालमा थप लेख्नु भएको छ, ‘गत बर्ष तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङलाई पुलको स्थलगत भ्रमण गराएर, इन्जिनियरहरु मार्फत अध्ययन पश्चात जारी बजेटमा नयाँ पुलकालागी संघीय सरकारबाट १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । डिपिआर गरेर नयाँ पुल निर्माणमा लाग्ने बजेटको अनुमान पश्चात बहुबर्षिय परियोजनामा परिणत गरेर श्रोत सुनिस्चिततापछि टेण्डर आह्वान हुनेछ ।’
यस क्षेत्रका जनप्रतिनिधिहरुले जे जे भनिरहे पनि पाँचदिन देखि सडक भने अवरुद्ध नै छ । आपतमा परेको मानिसहरु जोखिम मोलेर यात्रा गरिरहेका छन । जुनसुकै बेला थप क्षति हुने र ठुलो दुर्घटना हुने सम्भावनालाई नकार्न सकिन्न ।
अस्थाई रुपमा मर्मत गरेर सडक खुलाउने र सरकारले बजेट पठाए पछि दीगो रुपमा मर्मत गर्ने वा नयाँ पुल बनाउने भन्ने तर्फ न संसदको ध्यान पुगेको देखिन्छ नत दुवै नगर नेतृत्वकै त्यता तर्फ चासो भएको देखिन्छ ।
यसैबीच बुधबार सञ्चारकर्मी र प्राविधिकहरुको टोलीले उक्त पुलको स्थलगत निरीक्षण गरेका छन । प्राविधिकहरुका अनुसार अस्थाई रुपमा मर्मत गरेर दुई दिनमा उक्त पुल सञ्चालन गर्न सकिने जनाएका छन । तर त्यसका लागि लाग्ने बजेट भने व्यवस्थापन गर्नु पर्नेछ । राज्य संयन्त्रको अहिलेको अवस्थालाई मान्ने हो भने हडिया पुल अब दुई महिना अघि सूचारु हुने अवस्था छैन ।