झापा, मंसिर ४ । झापाको धुलाबारीबाट चन्द्रगढी जाने सडक तीन दिनदेखि अबरुद्ध छ । मेचीनगर क्षेत्रका सेवाग्राही सदरमुकाम चन्द्रगढी जानेदेखि पुर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने मुख्य सडकका रुपमा रहेको धुलाबारी–चन्द्रगढी सडकको हडिया पुल भत्किए पछि सडक अबरुद्ध भएको हो । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा ठूलो भ्वाङ परेका कारण सडक अवरुद्ध भएको छ ।
हडिया पुलमा विगत एक वर्षअघि नै सानो भ्वाङ परेको भए पनि सम्बन्धीत निकायले बेवास्ता गरेका कारण अहिले त्यही भ्वाङ ठूलो भएका कारण यातायात नै अबरुद्ध हुने अवस्था आएको स्थानीयहरुले गुनासो गरेका छन । उक्त सडक अबरुद्ध हुँदा मेचीनगर र दक्षिण इलामको रोङ गाउँपालिकाका स्थानीयहरु मेची प्रादेसिक अस्पताल भद्रपुर, ओमसाई अस्पताल भद्रपुर उपचारका लागि जान समेत समस्या भएको छ । त्यस्तै विमानस्थल जान आउने समेत लामो बाटो घुमेर जानु पर्ने अवस्था भएको छ । पुलमा परेको भ्वाङका कारण अहिले दुई चक्के साधन मोटरसाईकल र साईकलमात्रै आवत जावत हुन सक्छ भने चारचक्के सवारी साधन आवत जावत हुन सक्दैन ।
धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारीसाधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा र्पुयाउँदै आएका थिए ।
मर्मतमा ठुलो खर्च लाग्ने भएकाले स्थानीय तहहरुसंग समेत स्रोत नभएका कारण बजेटका लागि प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयमा लेखेर फाईल पठाएको पुर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोले बताउनु भयो । ‘मर्मत गर्न मात्रै करीब २० लाख खर्च लाग्ने देखियो,’ महतोले भन्नुभयो, ‘त्यो रकम हामीसंग पनि छैन, स्थानीय तहसंग पनि स्रोत छैन, त्यसैले प्रदेश मन्त्रालयमा लेखेर पठाएका छौं ।’
तत्काल अस्थाई रुपमा पनि सडक खुलाउने अवस्था नभएकाले मन्त्रालयबाट बजेटको सहमति नआई पुल बन्न नसक्ने महतोले बताउनु भयो । ‘प्रदेश मन्त्रालयबाट सहमति आए पछि १५ दिने सूचना निकालेर सिलबन्दी कोटेशन माग्छौं,’ वहाँले भन्नुभयो, ‘सहमति कहिले आउँछ त्यसैको आधारमा कहिलेसम्ममा पुलको मर्मत हुन्छ भन्न सकिन्छ ।’ महतोका अनुसार मन्त्रालयबाट बजेट सहमति अएको करीब एक महिना पछि मात्रै पुल मर्मत हुनेछ । मन्त्रालयको सहमति कहिले आउँछ भन्ने अवस्था नभएकाले हडिया पुल कहिलेसम्ममा मर्मत भएर सडक सूचारु हुन्छ भन्ने यकिन नभएको पुर्वाधार कार्यालयका प्रमुख महतोको भनाई छ ।
यसैबीच मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखद्वय गोपाल बुढाथोकी र गणेश पोखरेलले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गर्नु भएको छ । विगत एक वर्षदेखि भ्वाङ परेको पुलबाटै कयौं पटक हिडेका दुवै नगरप्रमुख यातायात अवरुद्ध हुने गरी भत्किए पछि मात्रै पुल निरिक्षण गर्न पुग्नु भएको हो । दुवै नगरप्रमुखले पुलको निरीक्षण गरे पनि मर्मतको खर्च भने जुटाउन नसके पछि प्रदेश मन्त्रालयमा मर्मच खर्च माग गरिएको हो ।