झापा, मंसिर ३ । मेचीनगरको चार वटा वडाहरु ११, १२, १३ र १४ मा फैलिएको चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन मंसिर १ गते सम्पन्न भएको छ । उक्त निर्वाचनको क्रममा मतदानको अघिल्लो दिन अर्थात कार्तिक ३० गते रिपोर्टिङका लागि उम्मेद्वारहरुले मत मागिरहेको घरदैलो कार्यक्रममा पुग्दा ठुला भनिएको दलका तर्फबाट उम्मेद्वार रहनु भएका एक जनाले भन्नुभयो, ‘रुख र सूर्य चिन्ह भन्यो भने त जनताले खेदाउने रैछन ।’ वहाँले अगाडी थप्नु भयो, ‘धन्न खानेपानीको चुनावमा नाममा भोट हाल्नु पर्छ र सजिलो छ ।’
चुनावी मैदानमै रहेका त्यो पनि दुई ठुला मध्ये एउटा राजनितिक दलका उम्मेद्वारले नै गरेको यो टिप्पणी त्यसको भोलि पल्टै सहि सावित भयो । निर्वाचनको परिणाममा काँग्रेस र एमाले जस्ता ठुला दल पुरै बडारिए । खानेपानीका उपभोक्ताले रुख र सुर्य चिन्ह धारी काँग्रेस र एमालेलाई नराम्ररी पराजित गरिदिए ।
दुई हजार ६ सय ९५ मतदाता मध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको चारआली खानेपानी संस्थाको ९ सदस्यीय कार्यसमितिमा सदस्य पदमा एक जना एमालेका उम्मेद्वार विजयी हुनु भएको छ भने ८ जना साझा प्यानलमा रहेका उम्मेद्वार नै विजयी भएका छन ।
चारआली खानेपानीको अध्यक्षमा माओवादी केन्द्रका राजन चिमरिया विजयी हुनु भयो । एमाले र काँग्रेसका अध्यक्षले ल्याएको मत जोड्दा पनि चिमरियाले ल्याएको मत १४६ ले बढी थियो । चिमरियाले प्राप्त गरेको ९११ मत कुल खसेको मतको ५१.१५ प्रतिशत हो ।
उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मैया कार्की, सचिवमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रेमराज घिमिरे, कोषाध्यक्षमा माओवादी केन्द्रका साउन मेचे (वादल) निर्वाचित हुनु भएको छ । सदस्यहरुमा माओवादी केन्द्रका पुरुसोत्तम सिग्देल, अञ्जु फेवादिन, संघीय समाजवादीका चन्द्रकला तवेबुङ लिम्बु, लिम्बुवानका तेज बहादुर लिम्बु निर्वाचित हुँदा एमालेका हरिप्रसाद घिमिरे निर्वाचित हुनु भएको छ ।
त्यस्तै तीन सदस्यीय लेखा समितिमा संयोजक र दुवै सदस्य साझा प्यानलकै उम्मेद्वार विजयी भए । संयोजकमा रास्वपाका अर्जुन खनाल निर्वाचित हुँदा सदस्यमा राप्रपाका रुद्रप्रसाद रिजाल र माओवादीका रितादेी रिजाल न्यौपाने निर्वाचित हुनु भयो ।
यस कारण हारे काँग्रेस र एमाले
आम नागरिक अहिले सत्ताधारी दल काँग्रेस र एमाले प्रति असन्तुष्ट रहेको एउटा गतिलो उदारहण बनेको छ चारआली खानेपानीको चुनाव । यो चुनाव दुई ठुला दलप्रतिको असन्तुष्टि नै हो भन्ने आधार के ? भन्ने प्रश्न पनि उठ्न सक्छ । चारआली खानेपानीको निर्वाचनमा राजनितिक दलहरुले संस्थागत रुपमै उम्मेद्वारी उठाएको र निर्वाचन प्रचार प्रसारमा सबै दलका स्थानीय नेताहरु समेत चुनावी मैदानमा होमिएका कारण पनि चारआली खानेपानी संस्थाको निर्वाचनको परिणामले काँग्रेस र एमाले प्रति आम नागरिकको बितृष्णा बढेको प्रष्टै देखिन्छ ।
दोस्रो कारण भनेको उम्मेद्वारका बारेमा सामाजिक रुपमा निर्माण भएको छवि हो । एमाले र काँग्रेसका उम्मेद्वारका तुलनामा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वारको छवी सामाजिक रुपमा राम्रो भएकैले पनि चारआली खानेपानी संस्थामा एमाले र काँग्रेस नराम्ररी पराजित भएका हुन । साझा प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार माओवादी केन्द्रका राजन चिमरिया सामाजिक रुपमा सकारात्मक छवि भएका व्यक्ति हुनुले पनि मतदाता प्रभावित भएको देखिन्छ । माओवादी केन्द्रको मेचीनगर अध्यक्ष समेत रहनु भएका चिमरिया दिन दुखिहरुको पीडामा मल्हम लगाउन निरन्तर गतिविधि गरिहनु हुन्छ । मानिसहरुसंग मिठो बोल्ने चिमरिया सामाजिक अभियानमा दलिय दृष्टिकोण नराख्ने स्वभावका हुनु पनि यो निर्वाचनमा काँग्रेस र एमालेको हारको कारण बन्न पुग्यो ।
तेस्रो कारण भनेको निर्वाचनको मतपत्र हो । चारआली खानेपानीको चुनावमा प्यानलगत रुपमा मत हाल्न मिल्ने गरी मतपत्र बनाएर प्रयोग गरिएको थियो । एउटै मतपत्र प्रयोग गरिएको चुनावमा काँग्रेस, एमाले र साझा प्यानल गरी तीन वटा प्यानलका उम्मेद्वारहरुको फोटो सहितको नामलाई माथिदेखि तलसम्म सिधा बनाएर राखिएको थियो । त्यसले माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार चिमरियाको छविका कारण प्रभावित भएका मतदाताले अध्यक्षलाई मतदान गरे पछि सजिलो हुने गरी त्यसैको तल भएका अन्य उम्मेद्वारलाई पनि मत दिए जसका कारण काँग्रेस र एमालेको प्यानल नै पराजित हुन पुग्यो । सामान्यतया मतपत्रमा नेपाली वर्णानूक्रम अनुसार उम्मेद्वारहरुको नामावली राखिने गरिन्छ । जुन चारआली खानेपानीको निर्वाचनमा प्रयोग गरिएन र त्यसको क्षती काँग्रेस र एमालेका उम्मेद्वारले व्यहोर्नु पर्यो ।
२०६५ सालमा स्थापना भएको चारआली खानेपानी संस्थामा वर्तमान अध्यक्ष एमालेका मधुसुधन निरौला हुनुहुन्थ्यो । वहाँ मेचीनगर १२ को वडा अध्यक्ष समेत हुनुहुन्छ । त्यस अघि काँग्रेसका लाल थेवेले दुई कार्यकाल नेतृत्व सम्हाल्नु भएको थियो । तर यो पटक थेवे देश बाहिर हुनु भएको र उम्मेद्वार हुने इच्छा समेत नगर्नु भएकाले खानेपानीको नेतृत्व परिवर्तन हुन पुग्यो ।
‘लाल थेवे नै हुँदा भने वहाँलाई सर्वसम्मत अध्यक्ष स्वीकार्न सकिन्थ्यो’ चुनाव अघि उम्मेद्वारका लागि छलफल चलिरहँदा अहिले निर्वाचित हुनु भएका अध्यक्ष चिमरियाको अभिव्यक्ति थियो । हुन पनि लाल थेवेले दुई कार्यकाल संस्थाको नेतृत्व गर्दा होस वा अहिलेका अध्यक्ष निरौलाले नेतृत्व लिँदा र त्यस अघि पनि अहिलेसम्म चारआली खानेपानी संस्थामा निर्वाचन भएको थिएन । यसले पनि नेतृत्वको छविले निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्छ भन्ने स्पष्ट पार्छ ।
स्थानीय तह निर्वाचनमा चारआली खानेपानी संस्थाको उपभोक्ता रहेका मेचीनगर वडा नं. ११, १२ र १३ मा एमालेकै वडा अध्यक्ष सहित अधिकाशं जनप्रतिनिधि निर्वाचित छन । वडा नं १४ मा मात्र माओवादीले वडा अध्यक्ष जितेकाे छ । यस क्षेत्रमा एमालेको प्रभाव राम्रो रहेको आँकलन गरिएको थियो । तर खानेपानीको निर्वाचनले त्यसको विपरित नतिजा दियो ।
समग्रमा चारआली खानेपानी संस्थाको चुनावी परिणामले आम मानिस अब काँग्रेस र एमालेको सदस्य गोजीमा राखेर अन्यत्र पनि भोट हाल्न सक्ने अवस्थामा चुपचाप लागेर बसेको बुझ्न सकिन्छ । त्यसैले पनि सामाजिक संघ संस्थामा राजनितिक दलले नै उम्मेद्वार बनाउँदा पनि संगठनको बलमा नभई व्यक्तिगत रुपमा आम मानिसमा भिजेको व्यक्तिलाई उम्मेद्वार बनाउनु पर्छ भन्ने सन्देश दिएको छ ।