अहिलेको विश्वको सबैभन्दा ठूलो चुनौती नै जलवायु परिवर्तन हो। सामान्य अवस्थामा कुनै पनि स्थानको जलवायु समय सापेक्ष लगभग एकैनास रहेको हुन्छ । जस्तै, निश्चित समयमा पानी पर्ने, गर्मी हुने, हिउँद हुने आदि हुन्छ र त्यसै अनुरुप त्यस स्थानमा पाइने जीवहरुले आफुलाई परिवर्तन गरेर त्यहाँ अनुकूलन भएका हुन्छन् तर जब त्यहाँको ऋतु चक्रमा परीवर्तन हुन्छ, औसत तापक्रम बदलिन्छ, अत्याधिक गर्मी या जाडो हुन थाल्छ त्यसले प्रत्यक्ष रुपमा त्यहाँ रहने वन्य जन्तु र वनस्पतिलाई असर गर्न थाल्छ । यसको नकारात्मक प्रभाव विभिन्न रुपमा मानिसमा पनि पर्न जान्छ ।
जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया र मानवजन्य क्रियाकलापहरूको सम्मिश्रण हो, तर पछिल्लो केही दशकमा मानव क्रियाकलापका कारण यसको प्रभाव तीव्र रूपमा बढेको छ। यसको मुख्य कारण ग्रीनहाउस ग्यासहरूको अत्यधिक उत्सर्जन हो, जसले पृथ्वीको तापक्रमलाई निरन्तर बढाइरहेको छ।
वायुमण्डलमा पाइने केही ग्यासहरु जस्तै: कार्बनडाइ अक्साइड, नाइट्रस अक्साइड, मिथेन, पानीको बाफ, सल्फरडाइ अक्साइस, ओजोन आदिले सूर्यबाट आएको ताप शक्तिलाई सञ्चय गरेर पृथ्वीलाई न्यानो बनाउने कार्य गर्दछन् । यी ग्यास थिएनन् भने पृथ्वी सेलाएर बरफको डल्लो बन्ने थियो । यी ग्यासहरुलाई ग्रीनहाउस ग्यास भनिन्छ । तर आजकल मानिसले गर्ने विभिन्न क्रियाकलापहरुले गर्दा वायुमण्डलमा यी ग्यासको मात्रा आवश्यक भन्दा बढ्न थालेको र कारण स्वरुप पृथ्वीको औसत तापमानमा वृद्धि हुन थालेको छ, यसलाई विश्व उष्णीकरण भनिन्छ । यो नै वर्तमानमा जलवायु परिवर्तनको प्रमुख कारण हो ।
ग्रीनहाउस ग्यास वृद्धि हुने प्रमुख कारणहरु निम्नानुसार रहेका छन् :
१. जीवाश्म इन्धनको अत्याधिक प्रयोग:
सवारीका साधन चलाउन, उद्याेग सञ्चालन गर्न, विद्युत् उत्पादन गर्न, खाना पकाउन हामी कोइला, पेट्रोलियम, र प्राकृतिक ग्याँस, दाउरा, गोबर ग्याँस जस्ता जीवाश्म तथा जैविक इन्धनहरूको अत्याधिक प्रयोग गरिरहेका छौँ । यसले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढाएको छ।
२. वन विनाश (Deforestation) :
वनस्पतिहरूले वातावरणबाट कार्बन डाइअक्साइड सोस्छन्, जसले ग्रीनहाउस प्रभावलाई कम गर्न मद्दत पुर्याउँछ तर वनहरूको अत्यधिक फँडानीका कारण यो प्रक्रिया घटिरहेको छ। सहर बसाउन, खेती गर्न, बाटो बनाउन, निर्माण सामग्रीको लागि हामी निरन्तर वन जङ्गलको विनास गरिरहेका छौँ ।
३. कृषि तथा पशुपालन:
कृषि उत्पादनमा वृद्धि गर्ने अभिप्रायले गरिएको रासायनिक मल प्रयोग तथा पशुपालन तथा धान खेतीले गर्दा नाइट्रस अक्साइड र मिथेन ग्याँसको उत्सर्जन बढाएको छ ।
४. औद्योगिक क्रियाकलाप :
उद्योगमा प्रयोग गरिने रसायनहरू, उद्योगबाट निस्कने धुवाँ इत्यादिमा हरित गृहप्रभाव बढाउने ग्याँसहरु प्रसस्त हुने गर्दछन् ।
५. युद्ध:
युद्ध मानिसद्वारा गरिने अमानवीय क्रियाकलाप मध्येको एक हो । युद्धमा एक मात्र उद्देश्य जित हुन्छ र त्यसको लागि जे सुकै कार्य गर्न पनि मानिस पछि पर्दैन । युद्धको बेला अत्याधिक उर्जा दहन हुने, ठुला ठुला विस्फोट हुने तथा विषालु ग्याँसको प्रयोग हुने गर्छ । वन जङ्गल व्यापक रुपमा विनाश पनि हुन सक्छ । त्यसैले जलवायु परिवर्तन गराउन मानिसद्वारा गरिने भीषण युद्धहरु पनि कारक हुन सक्छन् ।
जलवायु परिवर्तनका प्रभावहरू:
जलवायु परिवर्तनका कारण पृथ्वीमा विविध प्रकारका प्रभावहरू परिरहेका छन्, जसले मानव, वन्यजन्तु, र वनस्पती सबैलाई असर पुर्याएको छ।
१. तापक्रममा वृद्धि :
पृथ्वीको औसत तापक्रम निरन्तर बढ्दै गइरहेको छ। यसले ध्रुवीय तथा हिमाली क्षेत्रमा सञ्चित रहेको हिमभण्डार पग्लिँदैछन्, जसले गर्दा समुद्री सतहको स्तर बढिरहेको छ। यसले तटीय क्षेत्रका भुभागहरु समुद्रमा डुब्ने हुन जान्छ । हिमाली क्षेत्रमा हिउँ पग्लिएर नयाँ हिमताल बन्ने या पानीको अधिक सञ्चितिको कारणले फुट्ने र आसपासको भुभागमा बाडी पहिरो जाने हुन सक्छ ।
२. अतिवृष्टि र अनावृष्टि:
तापक्रम वृद्धिले पृथ्वीको जलवायु प्रणालीलाई असन्तुलित बनाउँछ। केही क्षेत्रमा अत्याधिक वर्षा हुन्छ भने अन्य क्षेत्रमा खडेरी र सुख्खा परिरहेको हुन सक्छ । यसले बाढी, पहिरो र सूख्खा तथा मरुभुमीकरणलाई बढाएर समस्यालाई गम्भीर बनाउने निश्चित छ ।
३. वनस्पति र जीवजन्तुमा असर:
जलवायु परिवर्तनका कारण धेरै जीवजन्तु र वनस्पति लोप हुने खतरामा छन्। तापक्रममा वृद्धि हुँदा धेरै जीवले आफ्नो प्राकृतिक आवास गुमाउँछन् र तिनीहरूको प्रजातिमा गिरावट आउन थाल्छ। बदलिदो परिवेश अनुरुप जीवहरुले नयाँ प्रकारका अनुकूल गुणहरु विकसित गरे भने त्यो मानव र बाँकी समस्त जीवहरुको लागि खतरा पनि हुन सक्छ । यसले नयाँ प्रकारका रोगका जीवाणुहरुको उत्पत्तिको सम्भावनालाई पनि नकार्न सक्दैन ।
४. मानव स्वास्थ्यमा असर:
जलवायु परिवर्तनले मानव स्वास्थ्यलाई पनि प्रभावित गरेको छ। अस्वाभाविक तापक्रमले मानिसहरूमा रोगहरूको वृद्धि गराउँछ, जस्तै अत्यधिक गर्मीको कारणले फोक्सोका रोग, छालाको क्यान्सर र विभिन्न प्रकारका संक्रामक रोगहरूको प्रकोप हुन सक्छ ।
५. चाकृक हरितगृह प्रभाव:
यो एक सैद्धान्तिक अवधारणा हो जस अनुसार हरितगृह ग्याँसको बढोत्तरिले विश्व तापक्रममा वृद्धि हुँदा त्यसको प्रभावले थप ग्रीन हाउस ग्याँसको उत्सर्जन हुने र तापक्रम बढ्ने क्रम चाकृक रुपमा चलिरन्छ । यसलाई रनअवे ग्रीनहाउस इफेक्ट भनिन्छ ।
उदाहरणका लागि:
यदि तापक्रम बढ्न थाल्यो भने, ध्रुवीय क्षेत्रको हिउँ पग्लन थाल्छ, जसले पृथ्वीको सतहलाई अँध्यारो र अधिक गर्मी सोस्ने बनाउँछ। पग्लेको हिउँबाट मिथेन जस्ता हरितगृह ग्याँसहरू वायुमण्डलमा पुग्छन्, जसले तापक्रम थप बढाउँछ। तातो हावाले बढी पानीको वाफ अढ्याएर राख्न सक्छ, जसले गर्दा तापक्रम अझ बढ्न थाल्छ । यो क्रम चालू रहँदा समुद्रको सम्पूर्ण पानी नै वाष्फीकरण हुने र पृथ्वी शुक्र ग्रह जस्तै अत्यन्तै तातो ग्याँसको गोलामा रुपान्तरण हुन पुग्छ ।
जलवायु परिवर्तनको समाधान
जलवायु परिवर्तनलाई रोक्न र यसको असरलाई कम गर्न विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ।
१. स्वच्छ ऊर्जा प्रयोग:
सौर्य ऊर्जा, पवन ऊर्जा, र जलविद्युत ऊर्जा जस्ता ऊर्जाको प्रयोग गर्दा हावामा हानीकारक ग्याँसहरु मिसिने सम्भावना हुँदैन । यसले जीवाश्म तथा जैविक इन्धन प्रतिको निर्भरता घटाउँछ र वातावरणलाई शुद्ध राख्न मद्दत गर्छ।
२. वन संरक्षण र वृक्षारोपण:
विद्यमान वनहरुको संरक्षण र सम्पूर्ण खाली ठाउँहरुमा वृक्षरोपण कार्यक्रमहरूलाई प्राथमिकता दिइनुपर्छ । वनस्पतिले वातावरणबाट कार्बन डाइअक्साइड सोस्ने क्षमता राख्छ, जसले ग्रीनहाउस प्रभावलाई घटाउँछ।
३. हरित संस्कारको विकास:
बिरुवा रोप्नु र हुर्काउनु हरेक नागरिकको दायित्व हो भन्ने भावना जगाउनु र सम्भव भएसम्म यत्रतत्र सर्वत्र विरुवाहरु हुर्काएर हरियाली कायम गर्नु हरित संस्कार हो । प्रत्येक उद्याेग स्थापना र सवारी साधन प्रयोगसँग वृक्षरोपणलाई अनिवार्य जोड्ने कार्यको सुरुवात गर्नुपर्छ । पर्यावरण कर उपभोक्तामा अनिवार्य गरेर त्यसबाट उठेको रकम इमान्दार पूर्वक हरियाली निर्माणमा प्रयोग गर्नुपर्छ । यसबाट संवत्: नै ग्रीन हाउस ग्याँसको उत्पादनमा कटौती हुन पुग्छ ।
४. युद्धरहित वातावरणको निर्माण:
युद्धबाट कसैको पनि जित हुँदैन, यो नितान्त मानवता विरोधी कार्य हो र सबै मानिसको शान्ति सँग बाँच्न पाउनु प्रथम मानव अधिकार हो भन्ने भावना सबैमा हुनु आवश्यक छ । गलत राजनैतिक संस्कारको उपजको रुपमा प्राग ऐतिहासिक कालदेखि कुनै न कुनै रुपमा युद्ध चलि नै रहेको छ र चली नै रहने छ तर यसलाई पनि पर्यावरणलाई न्यूनतम क्षति पुग्ने गरी नियमन गर्नु आवश्यक छ ।
५. सचेतना अभिवृद्धि:
हामी हाम्रै कारणले पृथीलाई मानव प्रतिकूल बनाउनमा उद्दत छौँ भन्ने कुरा सबैलाई बुझाउन आवश्यक छ । सबैलाई यसको गम्भीरता र समाधानका उपायहरूबारे जानकारी दिन आवश्यक छ।
प्रकृतिले सबै भन्दा बढी न्याय गरेको कसैलाई छ भने त्यो मानिस नै हो । मानिसलाई उच्च वौद्धिकता प्राप्त हुनुको तात्पर्य यो प्रकृतिलाई संरक्षण र सम्वर्धन गर्ने दायित्व पनि मानिसकै हो भन्न अत्युक्ति हुँदैन । पृथ्वी सबै सजीवको साझा घर हो तर यसको अनुभूति गर्ने चेत केवल मानव मस्तिष्कमा मात्रै छ ।
हाल आएर हामी मानिसकै कारणले पृथ्वीको पर्यावरण बिग्रदो छ र यसको दोषबाट हामीले उन्मुक्ति पाउन जलवायु परिवर्तनलाई हदैसम्म कम गर्नै पर्ने हुन्छ । विशेष गरी ठुला र महाशक्ति राष्ट्रहरु यसको प्रथम कारक हुन् तर यसको प्रभाव हामी जस्ता कम र अर्ध विकसित राष्ट्रहरुले बढी भोग्नु परिरहेको छ । अत्याधिक बाढी पहिरोको जोखिममा हामी परिरहेका छौँ । त्यसैले हामीले जलवायु परिवर्तनको असरको क्षतिपूर्तीको लागि विकसित देशसँग अधिकार सहित दावी गर्नु आवश्यक छ ।
यसका लागि आजसम्म धेरै अन्तराष्ट्रिय सम्मेलन र सम्झौताहरु भएका छन् । भरखरै यसै विषयको सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म कोप २८ (COP28) को नामबाट सम्पन्न भएको छ । यस सम्मेलनमा अघिल्लो पेरिस सम्झौताका लक्ष्यहरू प्राप्त गर्न थप योजनाहरू बनाउने, विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जन घटाउने र जलवायु वित्तीय सहायता बढाउने जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल भएका छन् । यस पटकको सम्मेलनमा विशेष रूपमा नवीकरणीय ऊर्जा विस्तार, जलवायु न्याय, र विकासशील राष्ट्रहरूलाई वित्तीय सहयोग पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको थियो । आशा गरौँ: हामीले न्याय अवश्य नै पाउने छौँ ।