झापा, कार्तिक २७ । आज हरिबोधिनी एकादशी पर्व परेको छ । एकादशी मध्ये सबैभन्दा ठुलो एकादशीका रुपमा मानिने हरिबोधिनी एकादशीलाई ठुली एकादशी पनि भन्ने गरिन्छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । त्यसैले आजको दिनलाई तुलशी विवाह गर्ने पर्वका रुपमा समेत मनाइन्छ ।
आसार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनु हुन्छ ।
यसैबिच, हरिबोधिनी एकादशीको अवसर पारेर झापाका ६ स्थानीय तहले आज मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन । हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना निकालेर विदा दिएका हुन । आज ती पालिकाहरूमा अति आवश्यकबाहेक पालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू बन्द रहने जारी गरिएको सूचनामा उल्लेख छ ।