मानव विकासको क्रममा मानिसले अनगिन्ती प्रकारका विज्ञान र प्राविधिक कुराहरुको आविष्कार गरेको छ । कतिपय यी आविष्कारहरूले हाम्रो जीवनलाई विशेष तरिकाले बदलिदिएका छन् जसलाई सामान्य परिवर्तन भन्नू भन्दा पनि रुपान्तरण नै भन्दा फरक पर्दैन, जसले हाम्रो सभ्यतालाई अगाडि बढाउन समेत महत्वपूर्ण भूमिका खेलेका छन्। यहाँ यस्ता केही प्रमुख आविष्कारहरूको चर्चा गरिएको छ ।
१. आगो माथिको नियन्त्रण:
प्राचीन मानिसले आगो विभिन्न प्राकृतिक रुपमा प्राप्त गरे पनि चाहिएको बेला आगो उत्पन्न गर्न र त्यसलाई नियन्त्रित रुपमा प्रयोग गर्न सक्नुलाई आविष्कार नै मान्न सकिन्छ । यसले मानिसलाई न्यानो, सुरक्षाका साथै खाना पकाउन र प्रकाश प्राप्त गर्न सक्षम बनायो।
२. चक्काको निर्माण:
चक्काको आविष्कारले घिसारेर चलाउनु पर्ने सवारीलाई गुडाउने बनायो । यसले यातायात र सामान बोक्न सजिलो बनायो, जसले व्यापार र सांस्कृतिक आदानप्रदानमा वृद्धि गर्यो।
३. लिपिको विकास:
लेखनले मानिसलाई वैचारिक अभिव्यक्ति दिन, सन्देश आदान प्रदान गर्न, जानकारी सँगाल्न र भावी पुस्तासम्म ज्ञानको हस्तान्तरण गर्न सक्षम बनायो ।
४. कृषि:
खेती तथा पशुपालनले मानिसलाई घुमन्ते संस्कारबाट निश्चित स्थानमा बसोबास गर्ने बनायो, जसबाट घर,परिवार, समाज र राष्ट्रको निर्माण सम्भव भयो ।
५. विद्युत:
विद्युतको आविष्कारले आधुनिक जीवनलाई एकदम सरल र सुविधा सम्पन्न बनाएको छ। यसले प्रकाश, संचार र उपकरणहरू चलाउन ठूलो भूमिका खेलेको छ।
६. इञ्जिन:
पानीको खाँदिएको वाफबाट चल्ने स्वचालित यन्त्र अर्थात इन्जिनको आविष्कारले मानिसले सयौँ दिनमा गर्ने काम दिनमा सम्पन्न गर्न सम्भव तुल्यायो । क्रमश: अन्य ऊर्जाहरु पेट्रोल, डिजल, विद्युतबाट चल्ने इन्जिनहरुको विकास हुँदै गयो जसले विश्वमा औद्योगिक क्रान्ति ल्यायो, यातायातलाई सहज बनायो अनि उत्पादनलाई तीव्र बनायो।
७. दुरसञ्चार:
एक ठाउँबाट अर्को ठाउँमा क्षणभरमै सूचनाको आदान प्रदान गर्ने टेलिग्राफ, टेलिफोन, रेडियो र टेलिभिजन जस्ता आविष्कारहरूले जानकारी छिटो र टाढा पुर्याउने सम्भावना ल्यायो। तारबाट विद्युत तरङ्गको रुपमा एक ठाउँबाट अर्को ठाउँमा सन्देश पुर्याउने टेलिग्राफ र टेलिफोनलाई क्रमशः रेडियो तरङ्गको रुपमा सन्देश प्रवाह गराउने रेडियो र अहिलेका मोबाइल फोन यसैका परिष्कृत रुपहरु हुन् । अहिले आएर काँचका मसिना नलीबाट लेजर किरणहरु प्रसारण गराएर सन्देशहरु आदान प्रदान गरिन्छ ।
८. कम्प्युटर:
कम्प्युटर र इन्टरनेटको आविष्कारले डिजिटल युगको सुरुवात गर्यो र ज्ञान, सञ्चार र व्यावसायिक प्रक्रियाहरूमा ठूलो परिवर्तन ल्यायो।
९. स्वास्थ्य र चिकित्सा :
भ्याक्सिन, एन्टिबायोटिक्स लगायत विभिन्न औषधिहरु, सर्जरी, एक्स किरण तथा चुम्बकीय क्षेत्रद्वारा गरिने भित्री अङ्गको निरीक्षण, अङ्ग प्रत्यारोपण आदि जस्ता आविष्कारहरूले मानिसमा लाग्ने जटिल रोगहरुको निदान र उपचार गर्न सम्भव भएको छ ।
१०. कृत्रिम बौद्धिकता (AI):
AI को आविष्कारले कम्प्युटरलाई सोच्न र आफैँ सिक्न सक्षम बनाएको छ। यसबाट मानिसले मेसिनलाई स्वचालित मात्र होइन स्वनियन्त्रित बनाएकाे छ । यो प्रविधि अब स्वास्थ्य, शिक्षा, व्यापार, यातायात, सञ्चारजस्ता हरेक क्षेत्रमा प्रयोग भइरहेको छ। यसबाट अब सुपर इन्टेलिजेन्स सम्मको परिकल्पना गर्न थालिएको छ ।
११. पारमाणविक शक्ति (nuclear energy):
यो एक युगान्तकारी आविष्कार हो, यसमा परमाणुको केन्द्रमा रहेको सङ्घटन गर्ने उर्जालाई बाहिर निकालिन्छ । यसमा थोरै वस्तुबाट अत्यन्त ठुलोमात्रामा उर्जाको उत्पादन गर्न सकिन्छ । यसले ऊर्जा उत्पादन, चिकित्सा, अनुसन्धान र सैन्य शक्तिमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। विश्वमा बढ्दै गएको उर्जाको मागलाई पूरा गर्न भविष्यमा यो मात्र निर्विकल्प साधन हुन सक्छ ।
१२. शून्य अर्थात Zero:
कुनै कुराको रिक्तता नै शून्य हो र यसको अवधारणा र प्रयोगमा प्राचीन भारतीय ऋषिमुनिहरुको देन छ। आर्यभट्टले पाँचौ शताब्दीमा यसलाई गणितीय रुपमा प्रयोग गरेका थिए । पछि, यो अवधारणा अरब वैज्ञानिकहरू मार्फत यूरोपमा फैलियो। हाल शून्यबिना न गणित सम्भव छ न यो डिजिटल युग नै ।
१३. टच स्कृन:
स्मार्ट फोन र सामाजिक सञ्जाल: हज्जारौ स्वीचहरुलाई एउटै कन्ट्रोल प्यानलमा जडान गर्न र त्यसलाई सञ्चालन गर्ने जटिलतालाई हटाउन आविष्कार गरिएको टच स्कृन अहिले हामीले चलाउने मोबाइल फोनमा प्रयोग गरिन्छ तर यसको आविष्कार रकेटको प्रक्षेपण नियन्त्रणको लागि गरिएको थियो । यो टच स्कृन तथा उच्च प्रविधी युक्त सञ्चालन सफ्ट वेयर प्रयोग गरिएको कम्प्युटरको सानो रुप अहिले हामीले हात हातमा प्रयोग गर्ने स्मार्ट फोनहो जसले अहिलेको हाम्रो दैनिकी नै पूर्ण परिवर्तन गरिदिएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, व्हाट्सएप जस्ता स्मार्टफोन मार्फत प्रयोग गरिने सञ्जाल नै सामाजिक सञ्जाल हो । यसले वर्तमानमा समाजका मानिसहरु विच तत्काल सम्पर्क स्थापित गर्न र सूचनाको आदान प्रदान गर्न सम्भव तुल्याएको छ ।
यो लेखमा मानिसले गरेका हजारौँ आविष्कारहरु मध्ये केही युगान्तकारी भौतिक आविष्कारहरुलाई समेट्ने प्रयत्न गरिएको छ । यसका अतिरिक्त मानिसले ईश्वर, धर्म, संस्कृति, साहित्य, सङ्गीत, कला, दर्शन, जस्ता अनगिन्ती भावनात्मक तथा गुणात्मक कुराको आविष्कार गर्न सक्षम भएको छ । यो नै पृथ्वीमा मानिसको उपस्थितिको सौन्दर्य पक्ष हो ।