म पहिलो पटक ताप्लेजुङ पुगेको २०५३ सालको भदौमा हो । त्यही बेला पाथिभरा मन्दीर दर्शन गर्न पुगेको थिएं । तेतीबेला ताप्लेजुङ बजारदेखि नै पैदल गएको सम्झना छ । पाथिभरा मन्दीरकै छेउको पाटीमा रात बिताएको स्मरण ताजै छ ।
त्यो बेला बाटोमा देखिएका दृश्य, भेडीगोठ, गाइगोठ अहिले पनि आँखैमा आइरहेको छ । गोठमा व्याएको गाइको दुध दोएर खाएको बिगौतिको स्वाद अहिले पनि जिब्रोमै झुण्डिएको छ । माथिल्लो फेदिमा भेटिएको दुई सय बढी भेडाहरुको बथानको नाईके (केरी) संग अँगालो हालेर फोटो खिचेको स्मरणले मात्रै पनि तन्नेरी उमेर मै पुर्याईदिन्छ ।
त्यो बेला दिनभरीको पैदल यात्रामा न कतै होटल भेटिए, न त कतै मदिरा र मासुको बजार नै देखिए । भेटिए त खाली गोठ र गोठालाहरू, अनि भेटिए निश्चल मनकारी मानिसहरू, जसले अभावकै बिचमा पनि हाम्रो १० सदस्यीय टोलीलाई गोठमै खाना पकाएर खुवाएका थिए ।
पहिलो पटक पाथिभरा मन्दीर पुगेको ठिक २० बर्ष पछि २०७३ सालको वैशाखमा पुन दोस्रो पटक पाथिभरा देविको दर्शन गर्ने अवसर जुर्यो । त्यो बेला झापाबाट ९ जनाको टोली ५ वटा मोटरसाइकलमा सवार थियौं । काफ्लेपाटीसम्म मोटरसाइकल पुर्याएर त्याहाबाट पैदल मन्दीर पुगेका थियौं । यो पटकको यात्रामा २० बर्ष अघिको यात्राको जस्तो मज्जा थिएन । त्यसको मुख्य कारण थियो पाथिभरा यात्रामा थपिएको सुविधा ।
सुविधा यसरी थपिएछ की । मन्दीर दर्शन गर्न गएको भान नै पर्न नदिने अवस्था बनेछ । काफ्ले पाटीसम्म सवारी साधन पुग्ने । काफ्ले पाटी र माथिल्लो फेदी, जहाँबाट पवित्र धार्मिकस्थल पाथिभरा मन्दीर क्षेत्र सुरु हुन्छ । ती ठाउँहरुमा मासु र मदिराको रेलो देखें । मन्दीर जाने अधिकाशं मानिस माथिल्लो फेदि र काफ्ले पार्टीमा नै बास बस्छन । रातभरि मदिरा र मासुमा रमाएकाहरु विहानै पाथिभरा मन्दीर दर्शनका लागि उकालो चढ्छन ।
२० बर्ष अघि भेटिएका भेडीगोठ कतै देखिएन, गाई गोठ पनि भेटिएन । खाना पकाएर खाएको गोठ भएको माथिल्लो फेदि त कुनै शहरको एउटा कुना जस्तो बजारमा परिणत भइसके छ । मन्दीरमा पुजा गर्ने सामग्री बिक्रि गर्नुको साटो माथिल्लो फेदि बजारले आगन्तुकलाई मदिरा र मासुमा झुमाउन थालेको रैछ ।
अहिलेका स्थानीयहरुकै वरिपरि घुमेको त्यो क्षेत्रको व्यापार केवलकार पछि पनि त्यस्तै रहला ? कि ति सबै व्यापार कुनै धन्याण्ड्य व्यापारी घरानाको पोल्टामा पुग्ला ? अहिलेका व्यवशायीहरु केवलकार पछि पनि व्यवशायी नै रहलान कि ठुलो व्यापारी घरानाको कामदारमा परिणत होलान ? अहिले जमिनको मालिक बनेका त्यस क्षेत्रका स्थानीयहरु केवलकार सञ्चालन भए पछि पनि जमिनको मालिक नै बन्लान की ठुलो व्यापारी घरानाको घुर्यानमा पुग्लान ।
पहिला तल्लो फेदि भनेर चिनिएको ठाउँ अहिले काफ्ले पाटी भइसकेछ । काफ्ले पाटीले यात्रुका सवारी साधनलाई विश्राम दिने रैछ । सवारीसंगै आउने यात्रुलाई पनि स्वाद अनुसारको खाना खुवाएर विच्छ्यौना पनि दिने रैछ काफ्ले पार्टीले ।
उ बेला निक्कै मुश्किलले मोटरसाईकल पुर्याइएको काफ्ले पाटीदेखि करीब एक घण्टा पैदलै माथिल्लो फेदि पुग्दा २० बर्ष अघिको यात्राको अलि अलि धङधगीं आएको थियो । तर त्यो स्मरण पनि माथिल्लो फेदिको बजार पुग्दा पुरै हरायो । किन कि त्यो बजार मन्दीर क्षेत्रको बजार जस्तै लागेन । त्यो बजारले कता कता पाथिभरा देवीको पवित्रातामाथी आँच पुर्याएको भान परिरहेको थियो ।
यी सबै कुरामा परिवर्तन भए पनि त्यस क्षेत्रमा अझै केही कुरा भने बाँचेकै थियो । त्यो हो, त्याहाँको मौलिकता, स्थानीयपन, स्थानीय भाषा, स्थानीय लवज, स्थानीय जीवन शैली र केही हदसम्म स्थानीय स्वाद । त्यति मात्रै होईन जे जस्तो भए पनि आजका दिनसम्म त्यो क्षेत्रको बजार र व्यापार दुवै स्थानीयकै वरिपरी छ । त्यसले स्थानीयकै जीवनस्तर उकास्न धेर थोर सहयोग पुगेकै छ ।
अहिले त्यही काफ्ले पाटी चर्चामा छ । पाथिभरा मन्दीर दर्शन गर्न सजिलोका लागि केवलकार निर्माणको प्रक्रिया अगाडी बढेको छ । मन्दीर दर्शन गर्न सबैका लागि सहज होस भनेर केवलकार बनाउनु सकरात्मक नै होला । त्यसले त्याहाँ आउने तीर्थ यात्रीहरुको संख्यामा पनि बृद्धि नै गर्ला । जहाजको पर्खाईमा रहेको तुम्लिङटार विनामस्थलमा ओर्लन पनि जहाजलाई भ्याइ नभ्याई होला । यसमा मेरो कुनै टिप्पणी छैन ।
तर अर्को पाटोबाट पनि चर्चा गर्नु पर्छ भन्ने मेरो बुझाई छ । अहिलेको काफ्ले पार्टी र माथिल्लो फेदिको बजार केवलकार पुगे पछि कुन रुपमा बदलिएला ? अहिलेका स्थानीयहरुकै वरिपरि घुमेको त्यो क्षेत्रको व्यापार केवलकार पछि पनि त्यस्तै रहला ? कि ति सबै व्यापार कुनै धन्याण्ड्य व्यापारी घरानाको पोल्टामा पुग्ला ? अहिलेका व्यवशायीहरु केवलकार पछि पनि व्यवशायी नै रहलान कि ठुलो व्यापारी घरानाको कामदारमा परिणत होलान ? अहिले जमिनको मालिक बनेका त्यस क्षेत्रका स्थानीयहरु केवलकार सञ्चालन भए पछि पनि जमिनको मालिक नै बन्लान की ठुलो व्यापारी घरानाको घुर्यानमा पुग्लान । यी र यस्ता थुप्रै प्रश्नको सहि जवाफ खोजिएन र केवलकारका लागि हतारो गरियो भने त्यसले भविश्यमा पाथिभरा क्षेत्र ताप्लेजुङे स्थानीयहरुको हातबाट फुत्कीन सक्छ ।
धार्मिक आस्था र विश्वासले पाथिभरा वा मुकुलुङमा पुजा गर्न हिडेरै जानु पर्छ कि केवलकारमा गए पनि हुन्छ भन्ने कुरा तर्फ चर्चा र बहस गर्न मेरो ज्ञानले पुग्दैन । तर यति चै थाहा छ की हाम्रै छिमेकी देश भारतमा पनि निक्कै अप्ठ्यारा ठाउँहरुमा भएका तीर्थस्थलहरुमा अहिलेसम्म केवलकार बनाइएको छैन । के भारतले नजानेर वा पैसा खर्च गर्न नसकेर केवलकार नबनाएको हो त ? कि जेष्ठ नागरिक र अशक्तहरुलाई दर्शन गर्न सजिलो नहोस भनेर केवलकार नबनाएको हो भारतले ? त्यस्तो त पक्कै होईन । किन कि भारत लगायत विश्वका थुप्रै देशहरुले पर्यटकीय स्थल र तीर्थस्थलको भेद् छुट्याएका छन । पर्यटकीय स्थल र तीर्थ स्थलको महत्व बुझेका छन र बुझाएका छन ।
पर्यटकीय स्थल र तीर्थ स्थल फरक कुरा हुन । तीर्थ स्थललाई पर्यटकीय स्थलका रुपमा रुपान्तरण गर्नु त्यस क्षेत्रको धार्मिक आस्था, त्यसले दिने उर्जा र त्यस क्षेत्रको स्थानीयपनलाई कोतर्नु हो । तीर्थ जानु भनेको रमाउन जानु होईन । नत मदिरामा मस्त हुनु नै हो ।
तीर्थ त्याहाँ गइन्छ जहाँ आस्था ठोक्किन्छ । तीर्थ जान त्यस क्षेत्रको धार्मिक वातावरण पनि प्रमुख कुरा हो । धार्मिक वातावरण भएन भने तीर्थको शक्ति विस्तारै कमजोर हुँदै जान्छ । धार्मिक वचनहरुलाई नै मान्ने हो भने मन्दीर र त्यस वरिपरीको पवित्रतामाथी आँच आयो वा त्यस क्षेत्रको धार्मिक वातावरण विग्रियो भने हामीले आस्था र अगाथ विश्वास गरेको देवी देवताले त्यो ठाउँ छोडेर अन्यत्र जान्छन । र त्यो क्षेत्र फगत पर्यटकीय क्षेत्रका रुपमा मात्रै परिणत हुन्छ ।
पर्यटकीय क्षेत्र मुलत रमाउनका लागि गईन्छ । घुमफिरका लागि पुगिन्छ । टहलिन खोजिन्छ । तर तीर्थ स्थल धार्मिक आस्थाकै लागि मात्रै पुगिन्छ ।
नेपालमा थुप्रै त्यस्ता पहाड र हिमाल छन जहाँ केवलकार र अन्य प्रविधिको प्रयोग गरी पर्यटकीय क्षेत्र बनाएर लाखौंको संख्यामा पर्यटक भित्र्याउन सकिन्छ तर धार्मिक आस्थाको पाथिभरा मन्दीरलाई तीर्थ स्थलकै रुपमा रहन दिउँ । पाथिभरा क्षेत्रको धार्मिक वातावरण नबिगारौं ।
सकिन्छ भने पाथिभरा मन्दीर क्षेत्रका (माथिल्लो फेदि र काफ्ले पाटी) होटल र अन्य व्यवशायलाई पवित्रतासंग जोडेर पुनसंरचना गरौं । मदिरा र मासुको आहालबाट बाहिर निकालौं । ताप्लेजुङदेखि काफ्ले पाटीसम्म मोटर पुग्ने अहिलेको जीर्ण सडकलाई स्तरउन्नती गरेर चिल्लो कालोपत्रे बनाउँ । पैदल यात्राका क्रममा ठाउँ ठाउँमा मानविय सेवामा समर्पित सेवाका भावले तीर्थयात्रीका लागि विशेष व्यवस्थाहरु गरौं ।
जेष्ठ नागरिक र अशक्त तीर्थ यात्रीका लागि बैकल्पीक व्यवस्था गरौं । तर पाथिभराको पवित्रतालाई सबै मिलेर जोगाई राखौं । पाथिभरा (मुकुलुङ) लाई पर्यटकीय क्षेत्रमा रुपान्तरण नगरौं । तीर्थ स्थलकै रुपमा रहन दिउँ ।
जय पाथिभरा माता ।
मेचीनगर-७,झापा