मेचीनगर,कार्तिक २५ । झापाकोे मेचीनगरमा `रिडर्स अभियान नेपाल´ संस्था स्थापना भएको छ । पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाको बारेमा आज औपचारीक रुपमा सार्वजनिक गरिएको हो । आज काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थामा ९ कार्यसमिति, ३ विधान मस्यौदा समिति र ४५ जना संस्थापक सदस्य रहेको जानकारी गराइएको छ । संस्थाको कार्यलयमा झापाको मेचीनगर–६, काँकरभिट्टामा रहेको छ ।
संस्थाको अध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा भगिरथ राई र सचिवमा मदन अधिकारी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा मुकुन्द शिवाकोटी, सहसचिवमा रिया ढुङ्गाना रहनुभएको छ भने सदस्यहरुमा दुर्गा भण्डारी, दिपक तिम्सिना, खेमानन्द गौतम र यामप्रसाद पोखरेल रहनुभएको छ । त्यस्तै विधान मस्यौदा समितिमा संयोजक ज्ञानेन्द्र निरौला तथा सदस्यहरु सुवर्ण भट्टराई र खिलप्रसाद घिमिरे रहनुभएको जानकारी गराइएको छ ।
पहिलो पटक रिडर्स फेष्टिवल आयोजना हुने
पत्रकार भेटघाटमा संस्थाले आयोजना गर्न लागेको रिडर्स फेस्टिवलको बारेमा समेत जानकारी गराइएको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म आयोजना हुन लागेको रिडर्स फेस्टिवल क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी र खुला रुपमा अध्ययनप्रति रुचि राख्ने समुहलाई लक्षित गरि आयोजना गरिएको संस्थाका उपाध्यक्ष भगिरथ राईले बताउनुभयो । फेस्टिवलमा सबै विद्यालय, क्याम्पस र भुगोलबाट सहभागी गराई अध्ययन प्रतिस्पर्धाको मोडेलमा आयोजना गरिने उहाँको भनाई छ ।
सहभागीले आफुले प्रस्तुति दिन चाहेका कुनै तीन पुस्तकको सूची अग्रिम बुझाउनु पर्ने छ । बुझाएका पुस्तक सूचीबाटै प्रतिस्पर्धा गराइ आर्जित ज्ञान र प्रस्तुतिका आधारमा उत्कृष्ट १० जनालाई प्रोत्साहित तथा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फेस्टिवलमा भारत, म्यान्मार, भुटानदेखिका सहभागी रहने तथा सहभागीलाई अनलाइनमार्फत समेत जोड्ने प्रयत्न भइरहेको बताइएको छ आयोजकले यो किसिमको कार्यक्रम संभवतः नेपालमै पहिलो हुने दाबी गरेको छ ।
मेचीनगर–६, स्थित लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी, लेखक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थापा, कन्सल्टेन्सी संचालक शंखर भट्टराई, कलाकार केसाङ लामा, पूर्व कार्यपालिका सदस्य लक्ष्मी थिङ, नाट्यकर्मी लिला विष्टलगायत संचारकर्मीहरु सहभागी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव मदन अधिकारीले गर्नुभएको थियो ।