काकरभिट्टा, कार्तिक २३ । नेपाली काँग्रेसका युवा नेताहरुले मेची महाकाली संकल्प यात्रा सूरु गरेका छन । नेपाल तरुण दलका पुर्व महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा शुक्रबार काकरभिट्टाबाट सूरु भएको यात्रामा काँग्रेसका ५० बढी युवाहरु सहभागि छन । संकल्प यात्राको सुभारम्भमा बोल्दै यात्राका संयोजक शाहीले भ्रष्टचार गर्ने जुनसुकै पार्टीको र जुनसुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिनु पर्ने धारणा राख्नु भयो । ‘भ्रष्टचार गर्ने व्यक्ति जुनसुकै पार्टीको हो त्यसलाई कारबाही गर्नु पर्छ,’ शाहीले भन्नुभयो, ‘भ्रष्टचारका सबै फाइल खोलिनु पर्छ ।’
आम मानिसको आवाज मुखरित नभएका कारण देशव्यापी रुपमा निराशा छाएको भन्दै नेता शाहीले संकल्प यात्राले आम नागरिकमा आशाको सञ्चार गर्ने बताउनु भयो । ‘युवाहरुमा निराशा बढेको छ,’ वहाँले भन्नुभयो, ‘देशमै केही गर्छु भन्नेहरुलाई पनि पाइल्यै पिच्छे भ्रष्टचारले विदेश जान बाध्य बनाएको छ ।’ यो देश कुनै विदेशी आएर बनाउने नभई नेपालीले नै बनाउनु पर्ने भएकाले पनि अब देशमै केही गर्न सकिन्छ भन्ने बिषय देशभरी बहसको रुपमा उठाउन संकल्प यात्रा गर्नु परेको शाहीले बताउनु भयो ।
यात्रा सुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले युवाहरुले सूरु गरेको यात्रालाई शुभकामना दिंदै देशभर सकारात्मक आशाको सञ्चार गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले देशमै केही गर्छु भन्ने युवाहरुलाई पुँजी निर्माणका लागि सजिलो उपाय सरकारले तयार गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै धर्मेन्द्र नेम्वाङले युवाहरुको नेतृत्वले मात्रै देशमा देखिएको निराशा चिर्न सक्ने बताउनु भयो । कार्यक्रमका बक्ताहरुले सहकारी ठगीमा संलग्नहरु सबैलाई कानूनी कारबाहीको भागिदार बनाउनु पर्ने बताउँदै सहकारीमा रकम जम्मा गर्ने पीडितहरुको रकम फिर्ता गर्ने सुनिश्चिता गराउनु पर्ने बताउनु भयो ।
संकल्प यात्राका बारेमा प्रकाश पार्दै पशुपति पोखरेलले युवाहरुलाई रोजगारीको सुनिश्चितता, भ्रष्टचार उन्मुलन र सुशासन, मँहगि र मुल्यबृद्धि नियन्त्रण र हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्वका लागि सकल्प यात्राले बहस चलाउने बताउनु भयो । पोखरेलले नागरिक मैत्री सरकार, सहकारी गठलाई कारबाही, सहकारी पिडितलाई तत्काल राहत र बचत फिर्ता लगायतका बिषयमा यात्राले देशव्यापी रुपमा आम नागरिकको आवाज उठाउने बताउनु भयो ।
नेपाली काँग्रेस मेचीनगरका सभापति सुवेशकुमार पनेरुको सभापतित्वमा सम्पन्न भएको संकल्प यात्राको सभारम्भ कार्यक्रममा काँग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले स्वागत मन्तव्य राख्दै युवाहरुको सक्रियताले नै देशमा परिवर्तनको आधार तयार गर्ने भन्दै सकारात्मक सन्देश फैलाउँदै यात्रालाई अगाडी बढाउन सुझाव दिनु भयो ।
यात्राको सभारम्भ कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मेचीनगरका सचिव मुकेश लिम्बुले गर्नु भएको थियो । आज सूरु भएको मेचीनगरदेखि महेन्द्रनगरसम्मको युवा संकल्प यात्रा देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्दै मंसिर ४ गते पश्चिम नेपालको महेन्द्रनगरमा समापन हुने यात्राका नेतृत्वकर्ता भुपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।