झापा, कार्तिक २३ । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान देशभरिका नदि तथा जलाशयमा बनाइएको पुजास्थल घाटमा ब्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठपर्व सम्पन्न भएको हो ।
झापाका मेची, निन्दा, अदुवा, बिरिङ, कनकाई लगायतका नदिमा छठ पर्व धुमधामसंग मनाईएको छ । हिजो अस्ताउँदो सुर्यलाई अर्घ्य दिने र आज विहान उदाउँदो सुर्यलाई अर्घ्य दिने समयमा ब्रतालुसंग छठ पर्व हेर्न आउने स्थानीयहरुको घुइचो लागेको थियो ।
धुलाबारीस्थीत निन्दा नदिमा सम्भावित स्वास्थ्य समस्यलाई ध्यानमा राखेर नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाले औषधी सहितको स्वास्थ्यकर्मीको टोली समेत खटाएको रेडक्रस मेचीनगर उपशाखाका सभापति रमेश कुमार दाहालले बताउनु भयो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । व्रतालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य भगवानको उपासना गरेका थिए ।
त्यस्तै पर्वको दोस्रो दिन बुधबार खरना मनाएका थिए । खरनाका दिन व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन अर्थात नून नहालेको खानेकुरा खाएका थिए ।
त्यस्तै षष्ठीका दिन अर्थात हिजो बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती लगायतका पुजा सामग्री ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य नजिकैको नदि तथा जलाशयमा छठ पुजाका लागि बनाइएको घाटसम्म पुगेर पुजा गरेका थिए ।
षष्ठीका दिन बिहीबार साँझ व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्यका सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।