झापा, कार्तिक २२ । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । मंसिर १६ गते हुने वडाअध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य राजनितिक दलले उम्मेद्वारको टुङ्गो लगाएका छन ।
उम्मेद्वारको टुङ्गो लागेसंगै कनकाई ६ मा चुनावी माहोल तातिएको छ । उम्मेद्वारहरु चुनावी मैदानमा होमिएका छन भने आम मतदाता चुनावी अडकलबाजीमा लागेका छन ।
वडा अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलाराम बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय भएको एमालेले जनाएको छ । पुर्व जनप्रतिनिधि समेत रहनु भएका बस्नेतलाई एमालेले वडाअध्यक्ष पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
त्यस्तै नेपाली काँग्रेसले पनि कनकाई ६ का लागि वडा अध्यक्षको उम्मेद्वार चयन गरेको छ । काँग्रेस कनकाई ६ का वडा सभापति समेत रहनु भएका रामगोपाल ओलीलाई नेपाली काँग्रेसले वडा अध्यक्षको उम्मेद्वार बनाउने तय भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनु भयो ।
वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले गणेश थापाको नाम औपचारिक रुपमै घोषणा गरिसकेको छ । केही दिन पार्टीका नेता नारायणकाजी श्रेष्ठको उपस्थीतिमा पार्टीका जिल्ला सदस्य समेत रहनु भएका थापालाई वडा अध्यक्षको उम्मेद्वारका रुपमा घोषणा गरिएको नेकपा माओवादी केन्द्र झापाका नेता राजु आचार्य अग्नीले बताउनु भयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि कनकाई ६ मा वडा अध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ । राप्रपा झापाका अध्यक्ष केशब ओझाले दिएको जानकारी अनुसार पार्टीका उक्त वडाका अध्यक्ष समेत रहनु भएका नारायण निरौलालाई वडा अध्यक्षको उम्मेद्वार बनाउने गरी जिल्ला समितिले सिफारिस गरिसकेको छ । ‘वहाँको मात्रै नाम सिफारिस भएकाले नारायण निरौला नै हाम्रो उम्मेद्वार हो, राप्रपा झापाका अध्यक्ष ओझाले भन्नुभयो ।’
पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागि हुने घोषणा गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफैंले उम्मेद्वार उठाउने सम्भावना कम रहेको बुझिएको छ । रास्वपाले २०७९ मा स्वतन्त्र उम्मेद्वार उठेर ६८ मतको झिने मतान्तरले पराजित हुनु भएका र यस पटक पनि उम्मेद्वारी दिने घोषणा गरिसक्नु भएका लक्ष्मीप्रसाद ओलीलाई नै समर्थन गर्ने बुझिएको छ । रास्वपाका झापा संयोजक उमेश खरेलले पार्टीले उम्मेद्वारको नामका बारेमा छलफल गरिरहेको भए पनि टुङ्गो नसकेको बताउनु भयो । ’हामीले उम्मेद्वारको नामका बारेमा छलफल गरिरहेका छौं तर टुङ्गो लागेको छैन,’ खरेलले भन्नुभयो, ‘स्वतन्त्र उम्मेद्वार ओलीलाई नै समर्थन गर्ने बिषयमा समेत छलफल भइरहेको छ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्वार रहनु भएका लक्ष्मी प्रसाद ओली वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०७९ को निर्वाचनमा समेत वहाँ आँकाक्षी हुनुहुन्थ्यो तर काँग्रेसले उम्मेद्वार नबनाए पछि वहाँले स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावमा सहभागि हुनु भएको थियो । एमालेका उम्मेद्वार दीर्घबहादुर थापासंग ६८ मतको झिने मतान्तरले पराजित हुनु भएको थियो ।
कनकाई वडा नं. ६ मा २०७९ मा निर्वाचित वडा अध्यक्ष एमालेका दीर्घबहादुर थापाको क्यान्सरको बिरामीका कारण ६६ बर्षको उमेरमा २०८१ असारमा निधन भए पछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको उम्मेद्वारी दर्ता मंसिर २ गते हुने निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ ।