झापा, कार्तिक २० । यो बर्षको छठ पर्व आजदेखि विधिपुर्वक रुपमा सूरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका जिल्लामा बिशेष रुपमा मनाउने गरिएको भए पनि काठमाण्डौ उपत्यका र पहाडी जिल्लाहरुमा समेत मनाइने गरिन्छ ।
आज व्रतालुले शरीर चोख्याउने काम गर्दछन । जसलाई नहाय खाए भनिन्छ । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खरना मनाइनेछ । खरनाका दिन व्रतालुले दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्दछन । खरनाको राति ब्रतालुले अरवा अरबाईन अर्थात नून नहालेको खानेकुरा खान्छन ।
त्यस्तै षष्ठीका दिन अर्थात बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै पुजा गर्न बनाइएको नजिकैको जलाशयको घाटमा जान्छन र विधि पुर्वक पुजा गरी अस्ताउँदो सुर्यलाई अध्र्य दिने गरिन्छ ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन । यो दिनलाई छठ पर्वको मुख्य दिनका रुपमा लिइन्छ । त्यसको भोलिपल्ट अर्थात शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याउँदै उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व समापन हुन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति मिलोस भन्ने मनकामना पुरा हुने धार्मिक विश्वास रहिआएकाले पनि छठ पर्वका अवसरमा सुर्यको पुजा आराधना गर्ने भक्तजनको संख्या हरेक बर्ष बढ्ने क्रममा रहेको बताइएको छ । छठ पर्वको अवसरमा कार्तिक २२ गते बिहिबार सार्वजनिक विदा समेत दिइएको छ ।