आज दिपावली गर्दा बत्तिमा किराले झ्याप्पै घेरेका छन । प्राय: यो समयमा किराहरु बढी नै देखिने गर्छन ।
किराहरु आर्थ्रोपोडा अन्तरगत इन्सेक्टा वर्गमा पर्दछन । यीनिहरुको शरीर टाउको, छाती र पेट गरि तीन खन्डमा बाँडिएको हुन्छ ।
टाउकोमा कम्पाउण्ड आँखा हुन्छ, यसको अर्थ एउटै आँखाको दानामा सयौँ देखि हजारौँ लेन्सहरु हुन्छन । छातिमा खन्ड खण्ड परेका ६ वटा खुट्टा र ४ वटा पखेटा रहेका हुन्छन, यो सङ्ख्या कुनै कुनै किराहरुमा फरक पर्न सक्छ । श्वास फेर्नलाई छातीमा मसिना प्वाल हुन्छन ।
यीनिहरुको जीवनचक्रमा फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट फेरि किरा बनिने गर्दछ । प्युपालाई जनजिब्रोमा धोक्रे भनिन्छ । किराको शरीर कडा प्रकारको काइटिन भन्ने पदार्थले ढाकिएको हुन्छ ।
कमिला, मौरी, धमिरा, झ्याउकिरी, गोब्रेकिरा, पुतली, फट्याङ्ग्रा, पदेरो, कुमाले, झिगा, भुसुना आदि किरा वर्गमा पर्दछन ।
पोथी किराको शरीरबाट निस्किने विशेष प्रकारको प्रतीरक्त किरणले भाले किरालाई आकर्षण गर्छ, र तिनीहरु बिच शारीरिक सम्पर्क भएर प्रजनन हुन्छ । बत्तिबाट निस्कने प्रकाशमा पनि उक्त किरण हुने भएकाले भाले किराहरु बत्तिमा आउने र झुम्मिने गर्छन । यसलाई फोटो ट्याक्सिस भनिन्छ ।
मौरी, रेशम किरा आदि जस्ता किराहरुले प्रत्यक्ष तथा भमरा र पुतली आदिले परोक्ष रुपमा फूलमा पराग सेचन गरेर हामीलाई फाइदा पुर्याइ रहेका हुन्छन भने धेरै किराहरुले फलफूल कुहाएर, बिरुवाको पात, डाठ, फूल र जरा खाएर बालीलाई नोक्सान पुर्याइ रहेको हुन्छ ।
परम्परागत रुपमा खेतमा आगोको राको बालेर किराहरु नष्ट गर्ने गरिन्थ्यो । दिपावलीको दिन खेतमा ठूलो आगोको राको या पुल्ठो बालेको मलाई अझै थाहा छ । पक्कै पनि त्यो किरा नियन्त्रणको प्राकृतिक र हानीरहित उपाय थियो । कृषि युगमा गरिने यहि कार्यको परिवर्तित रुप आजको दिपावली हो कि भन्ने मलाई लाग्छ ।
आजकल दिपावलीको पछाडी धेरै मिथकहरु जोडिने गरिन्छन । भगवान रामको बनवासबाट फिर्ता आउदा गरिएको स्वागत र हर्षोल्लासको प्रतीक भनिने गरिएको छ । जे भए पनि यो उज्यालोजो पर्वहो, तमसोमा ज्योतिर्गमय : सबैमा दिपावलीको हार्दिक शुभकमना।