झापा, कार्तिक १५ । साफ वुमन्स च्याम्पियनसिपको उपाधी बंगलादेशले जितेको छ । फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधी जितेको हो । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ ।
बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा एक गोल फर्काइन ।
यसअघि सन २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।
नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन २०२२ मा भएको छैटौं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३–१ ले पराजित भएको थियो ।
साफमा नेपालले सर्वाधिक छैटौं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ ।
बंगलादेश सन २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाल सन २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।
नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो । समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको हो ।
सन १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो ।