झापा, कार्तिक ११ । झापाको बिर्तामोडमा रहेको नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले शेयर पुँजी २ करोड ५० लाख नाघेको छ । संस्थाको हिजो सम्पन्न १३ औं वार्षिक साधारण सभामा संस्थाकी अध्यक्ष सुस्मा पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार नयाँ उज्यालो सकोसको शेयर पुँजी २ करोड ५० लाख ५६ हजार ३०० पुगेको छ । त्यस्तै संस्थाले कर्जा लगानी ५ करोड २३ लाख ४२ हजार २६२ रहेको छ भने जगेडा कोषमा ४२ लाख २४ हजार ४६८ रुपैयाँ २३ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाकी अध्यक्ष पौडेलको सभापतित्व तथा बिर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख मोहन सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले संस्थाले सदस्यलाई उद्यमी बनाउन र व्यवसायीक बनाउन काम गर्दै आएको बताउनु भयो । उहाँले संस्थाले सदस्यको सदैब हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
संस्थाले साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता, ज्येष्ठ शेयर सदस्य, ज्येष्ठ नियमित वचत गर्ने सदस्यलाई दोसल्ला ओढाएर नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको छ । कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक गणेशप्रसाद पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का कार्यवहाक वडा अध्यक्ष ओमभक्त सेढाई, गौरवशाली सहकारीका अध्यक्ष युवराज विमली, जिल्ला सहकारी संघ झापाका सदस्य केशव वस्नेत, साना मझौला सहकारीका अध्यक्ष देवका निरौला वस्नेत, शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको ऋण लिएर पछिल्लो समय हल्लाको पछि लागेर नतिर्ने जमात बढ्दै गएको बताए । उनीहरुले हल्लाको पछि नलानी सहकारीबाट लिएको ऋण सही समयमा तिर्न सबैलाई अनुरोध गरे ।
संस्थाको संस्थापक केशर वहादुर खवासले औतिथ्य माथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रम संस्थाका सह सचिव शिव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।