मेचीनगर, कार्तिक १० । झापाको मेचीनगरमा यस बर्षको कुकुर तिहारमा बिषेश कार्यक्रमको आयोजना गरिने भएको छ । परापुर्वकाल देखि नै मानिसको अत्यन्तै नजिक रहेर पनि कुकुर अहिलेसम्म पनि मानिसबाटै हेपिएका कारण त्यस्तो सोचलाई बदल्न र मानिसको साथीको रुपमा कुकुरको पहिचानलाई स्थापित गर्न यो बर्षको कुकुर तिहारमा बिषेश कार्यक्रम गर्न लागिएको थिङ्कर्स क्लव मेचीनगरका अध्यक्ष आयुस्मान निरौलाले बताउनु भयो ।
कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिङ्कर्स क्लव मेचीनगरका अध्यक्ष निरौलाले मानिसको सुख दुखको साथी मात्रै नभएर सुरक्षाका लागि बलियो पहरेदार पनि भएकाले सबै कुकुरहरुको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । ‘कुकुर तिहार अर्थात कार्तिक १५ गते बिहिबारका दिन मेचीनगरको धुलाबारीदेखि काकरभिट्टासम्म पुर्वपश्चिम राजमार्गमा भेटिने सबै सामुदायिक कुकुरहरुलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाईउँछौं, निरौलाले भन्नुभयो, ‘त्यो दिन काकरभिट्टामा सामुदायिक र घरपालुवा कुकुरहरुका लागि स्वास्थ्य शिविरको समेत आयोजना गरेर सामुहिक पुजा गर्ने कार्यक्रम समेत राखेका छौं ।’
पत्रकार सम्मेलनमा रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कमल कोईरालाले सामुदायिक कुकुरहरुको संरक्षण गर्दै उनीहरुको उपचारमा समेत मानिसले बिषेश ध्यान दिनु पर्छ भन्ने जनचेतना फैलाउन यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कोइरालाले भन्नुभयो, ‘कुकुर प्रति समाजमा सकारात्मक सन्देश दिने उद्देश्य राखेका छौं ।’
उक्त दिन काकरभिट्टाको खेल मैदानमा घर पालुवा र सामुदायिक कुकुरहरुका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमा रेविज भ्याक्सिन लगाउने, छाला सम्बन्धी रोगको उपचार र जुकाको औषधी खुवाउने लगायत आवश्यकता अनुसारका अन्य उपचार र परामर्श सेवा समेत उपलब्ध गराइने पशु प्राविधिक रञ्जु खड्काले पत्रकार सम्मेलनमा बताउनु भयो । खड्काले भन्नुभयो, ‘विहानको समयमा कुकर शान्त स्वभावमा हुन्छ, त्यो बेला उसलाई बोलायो भने आउँछ र उपचार गर्न सजिलो हुन्छ ।’
थिङ्कर्स क्लव मेचीनगर, रोटरी क्लव अफ मेचीनगर, रोट्याक्ट क्लव अफ मेचीनगर, रोट्याक्ट क्लव अफ इटाभट्टा, उज्यालो यात्रा लगायतका संघ संस्थाले संयुक्त रुपमा आयोजना गरिने कुकुर तिहार विशेष कार्यक्रममा ५० भन्दा बढी सामुदायिक कुकुरलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाउने, १५० भन्दा बढी घर पालुवा र सामुदायिक कुकुरलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा मेचीनगरका विभिन्न क्षेत्रमा सक्रिय युवाको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन थिङ्कर्स क्लव मेचीनगरका अध्यक्ष आयुस्मान निरौलाको अध्यक्षता तथा सदस्य अनुप घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।